झापा : झापाको दमकमा बैङ्किङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानमा तीन जना पक्राउ परेका छन् ।  

कामना सेवा विकाश बैङ्क मार्फत चलन चल्तीको मोल भन्दा अधिक धितो मुल्याकंन गरी करोडौँ रुपैयाँ अनियमित रूपमा कर्जा लिने र दिने कार्यमा संलग्न रहेको आरोपमा सो बैङ्कका तत्कालीन एक नम्बर प्रदेश प्रमुख समेत रहेका सुजन छाराहाङ्ग राई र अन्य दुई जना ऋणीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

उनीहरूलाई गत शुक्रबार नै पक्राउ गरिएको र राई सहित तिनैजनाको बयान चलिरहेको दमक प्रहरी श्रोतले जानकारी दिएको छ । राईले कामना सेवा विकाश बैङ्कको दमक सहित आफू मातहतका शाखाहरूलाई धितो मुल्याकंन चलनचल्ती भन्दा बढी कायम गरी कर्जा प्रवाहका लागि दबाब दिने गरेका बताइएको छ ।

सो कसुरमा संलग्न अन्य आरोपितहरू भने फरार भएको बताइएको छ । यस विषयमा अहिले थप अनुसन्धान भइरहेको छ । यस विषयमा दमक प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।