इटहरी : ब्याजदरको कारण उद्योगधन्दा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै सरकार उद्योग जिम्मा लिन तयार हुनुपर्ने चेतावनी दिएका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मोरङका उद्योगी व्यवसायीले वाणिज्य बैङ्कहरूको बढ्दो ब्याजदर धान्न सक्ने अवस्था नरहेको बताएका हुन् ।
बैकमा पैसा जम्मा गरेर व्याज खानेहरू लभान्वीत हुने तर उद्योगीहरू समस्यामा पर्ने नीति बैङ्कहरूले लिएको उद्योगी व्यवसायीको गुनासो छ । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल ६ महिनामा बैङ्क ब्याजदर दोब्बर हुँदा उद्योगी व्यवसायी मारमा परेको बताउँछन् । कोभिड पछि लयमा फर्की नै लागेका उद्योग व्यवसाय बैङ्कको ब्याजदर र आफूखुसी ४ प्रतिशतसम्म स्प्रेड दर कायम गरेको कारण थला पर्ने अवस्थामा पुगेको उनले बताए । 
बैङ्कहरूले नाफा कमाइरहने तर उद्योगी व्यवसायी र उपभोक्ता सधैँ मारमै पर्ने अवस्था प्रति नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले चासो नदिएको उनले सुनाए । हाल जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरू समेत व्यवसायमैत्री नभएको उनको टिप्पणी छ । 
उद्योगीहरूले एकल अङ्कको ब्याजदर कायम गर्नु पर्ने र औद्योगिक प्रयोजनका कर्जाको ब्याजदर फरक गर्नुपर्ने उनीहरूको माग छ । यस्तै अवस्था कायम रहे मुलुकको आर्थिक गतिविधिहरू सञ्चालन गर्न कठिन हुने र अर्थतन्त्र झनै प्रतिकुल हुने उनीहरू बताउँछन् ।