विराटनगर : सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले संविधान सँगैको सङ्घीयताले विकासका गतिविधि चलायमान बनाएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री कार्कीले केन्द्रीकृत मानसिकताबाट ग्रसित मुलुकमा संविधान सँगैको सङ्घीयताले विकेन्द्रित बनाएको बताएका हुन । 

‘हरेक क्षेत्रमा विकाशका गतिविधिहरू चलायमान हुँदै गएका छन् । सन्देशमा भनिएको छ, आवश्यक कानुन निर्माण, विपद् व्यवस्थापन, आपराधिक गतिविधिको नियन्त्रण तथा नैतिक शिक्षाको जोडमा प्रदेश १ सरकार, त्यसमाथि यस मन्त्रालय जुटेर लागेको अवगत गराउँदछु ।’ 

संविधान दिवसमा प्रदेश १ सरकारको वृहत् वृक्षारोपण 

संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछी सम्म सडकको बिच भाग(डिभाइडर)मा बिरुवा रोपी संविधान दिवस मनाइएको हो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बिरुवा रोपी कार्यक्रमको सुरुवात गरेका थिए । केन्द्र सरकारको परिपत्र अनुसार प्रदेश १ सरकारले असोज २, ३ र ४ गते (३ दिन)सम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने निर्णय गरेको थियो । 

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै संविधानलाई जोगाएर लान जरुरी रहेको बताए । वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट विद्यार्थी, स्वयंसेवी विद्यार्थी, निजामती कर्मचारीहरूले वन कार्यालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपलब्ध गराएका २३ सय बिरुवा रोपेका छन् । 

घरघरमा दीपावली गर्न अपिल 

प्रदेश सरकारले दिवसको मुख्य दिन सोमबार साँझ प्रदेशवासी आम नागरिकलाई आ-आफ्नो घर टोल र महत्त्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न अपिल गरेको छ । यस्तै सरकारले मङ्गलवार दीपावली गरेर दिवस समापन गर्नेछ । 

२०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ ।