सुनसरी : आत्महत्या गर्न सप्तकोशी नदीमा हाम फालेका एक पुरुषलाई प्रहरीले सकुशल उद्धार गरेको छ। बुधवार आज साँझ पाँच बजे पुलबाट नदीमा हाम फाल्नासाथ उद्धार गरिएको हो । हामफाल्नेमा सप्तरीको तिरहुत गाउँपालिका-५ घर भएका २२ वर्षीय मिथुन कुमार मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
उनलाई प्रहरी चौकी कोसी ब्यारेजका प्रहरी सहायक निरीक्षक रेवत बहादुर थापाको टोली र माझीहरूले उद्धार गरेका थिए । घरमा सामान्य विवाद भएपछि उनी बेपत्ता भएका थिए । तनाव खप्न नसकेर हाम फालेको उनले बताएका छन् । उद्धारपछि परिवारलाई बोलाई जिम्मा लगाएको प्रहरीले बताएको छ । 
त्यस्तै बुधवार आजै उक्त नदीको ब्यारेजबाट हाम फाल्न लागेको अवस्थामा प्रहरीले एक महिलालाई पनि उद्धार गरेको छ। बेलुका ७ः३० मोरङको बेलबारी नगरपालिका-१ घर भएकी ४४ वर्षीय गीता लिम्बुलाई हाम फाल्न नदिई सकुशल उद्धार गरिएको हो । 
पूर्व पश्चिम राजमार्गको कोसी पुलको बिचमा पुगेर नदी तर्फ एकोहोरो हेरिरहेपछि प्रहरी तत्काल पुगेको थियो । उनलाई सोधपुछ गर्दा घरायसी समस्या भएका कारण आत्महत्याको प्रयास गरेको बताएकी छिन् । महिलालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ। 
गत असोज १ गते पनि इटहरी उपमहानगर वडा नम्बर २ की ३४ वर्षीय महिलाले पनि सामूहिक आत्महत्या प्रयास गरेकी थिइन् । उनले आफ्ना १२ र ९ वर्षीय दुई छोरी र ७ वर्षको छोरा सहित हाम फाल्न लागेको देखेपछि उनीहरू चारैजनालाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । ती महिलाले आफैँ ठगीमा परेको र तनाव सहन नसकेर आत्महत्याको प्रयास गरेको बताइएकी थिइन् । 
पछिल्लो समय आत्महत्याका लागि उक्त सप्तकोशी नदीको पुल सहारा लिने गरेका घटना बढेका छन् । दिनहुँ यस्ता घटना बढेपछि प्रहरी उक्त स्थानमा सुरक्षा व्यवस्था समेत कडा बनाएको छ ।