धरान : धरानको स्वस्तिका चौकमा निशाने खोलाको दोभानबाट १० इन्चे पाइपमा पानी आइपुगेको छ । 

धरानका मेयर हर्क साम्पाङको अभियान अन्तर्गत सञ्चालन भएको श्रमदानबाट निशाने दोभान देखि १० इन्चे पाइपबाट स्वस्तिका चौकमा आइतबार पानी झराइएको हो । मेयर हर्क साम्पाङले २५ दिनमा निशाने दोभानबाट स्वस्तिका चौकमा रहेको खानेपानीको ट्याङ्कीमा पानी ल्याईपुर्याउने गरी काम गर्ने भनेकोमा २१ दिनमै स्वस्तिका चौकमा पानी ल्याइएकोमा श्रमदान र सहयोगी दाताहरूको साथ र सहयोगबाट सफल भएको प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बुले बताए । 

घाम पानी नभनी अहोरात्र श्रमदान गर्नेहरू खटेकोले २१ दिनमै स्वस्तिका चौकमा पानी झराउन सफल भएकोमा मेयर साम्पाङले यो अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । मेयर साम्पाङले संक्षिप्त सम्बोधन गर्दै मलाई हर्क साम्पाङ भनेर हिरो बनाउनुभयो तर वास्तविक हिरो तपाई जनता हो । मैले त बेल्चा लिएर यसो के हिँडेको थिए तपाईँहरूले मलाई पच्छ्याउनुभयो । आज त्यही तपाईँहरूको साथ र सहयोगको परिणाम हो यहाँ पानी आउनु भनेको उनले भने । 

Swastika-chowk-4निस्वार्थ भावनाका साथ देश विदेशबाट साथ सहयोग अनि धरानवासीको श्रमदानको परिणामले सफलता पाएकोले स्वस्तिका चौकमा पानी झार्न सफल भएको बताए । 

स्वस्तिका चौकमा पानी शनिवार नै झार्ने भनिएको थियो । तर अविरल वर्षाका कारण सर्दु, खर्दु र निशाने खोलामा भेल बाढी आएकोले पानी झार्न सकिएको थिएन । आइतबार मेयर आफै मुहानमा पुगेर पानी फर्काएर आए पछि स्वस्तिका चौकमा पानी झरेको थियो । स्वस्तिका चौकमा पानी झर्दा त्यहाँ उपस्थित सयौँ सर्वसाधारण पानीमा नुहाएर खुसीयाली मनाएका थिए । मेयर हर्क साम्पाङ र खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेललाई पनि सर्वसाधारणले पानीमा बोकेर भिजाउँदै खुसी मनाएका थिए । 

स्वस्तिका चौकको खानेपानी ट्याङ्कीमा यस भन्दा अघि चारकोसे जङ्गलबाट खानेपानी पम्प गरेर ल्याइएको थियो । पम्प नै गरेर धरान १२ मा वितरण गरिँदै आएको थियो । तर सर्दु, खर्दु र निशाने खोलाबाट ल्याइएको पानी पम्प विनै सहजै वितरण गर्न सकिने कार्यकारी निर्देशक पोखरेलले बताए । सोमबार देखि नियमित ट्याङ्कीमा पानी झराइने र वितरण गर्न थालिने बताइएको छ । 

Swastika-chowk-5Swastika-chowk-2Swastika-chowk-1