सुनसरी : दोस्रो संस्करणको पञ्चायन गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नीराजन फुटबल क्लब धरानले जितेको छ । 
आज सोमबार सम्पन्न फाइनल खेलमा सुनसरी तरहराको योङलर्ड बुद्ध क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विजेता नीराजन फुटबल क्लबले नगद १ लाख २५ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता योङलर्ड बुद्धले ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ । 
सुनसरीको रामधुनी-७ स्थित पञ्चायन खेल मैदानमा सम्पन्न प्रतियोगितामा विजेता टिमका दोर्जे तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ७ हजार रुपैयाँ हात पारे ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड तरहराका सुजन मगर, सर्वाधिक गोलकर्ता धरानका मिलन लिम्बु, उत्कृष्ट डिफेण्डर धराका बिकु राई र उत्कृष्ट प्रशिक्षक मौसम राई घोषित भए । प्रतियोगिताको उदयमान खेलाडी आयोजक पञ्चायन क्लबका रञ्जित कार्की घोषित भए । उनीहरू सबैले जनही नगद ५ हजार प्राप्त गरे ।
असोज १ गते देखी सुरु भएको प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुरका १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा शान्तिनगर फुटबल क्लब इटहरी, उदयपुर फुटबल क्लब गाईघाट, मितेरी फुटबल क्लब धरान, इनरुवा इभेन्ट्स म्यानेजमेन्ट इनरुवा, सप्तकोशी फुटबल क्लब वराहक्षेत्र, नवयुवा क्लब मोरङ, सयपत्री फुटबल क्लब वराहक्षेत्र, योङलर्ड बुद्ध क्लब इटहरी र आयोजक टिम निलो र रातो गरी १० टिमले प्रतिस्पर्धा गरेका थिए ।