झापा : गत असोज ३ गते झापाको दमक नगरपालिका वडा नम्बर ९ मा रहेको चिया बगानमा फेला परेको एक नवजात शिशुको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन् । दमक प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ-९ घर भई हाल दमक-८ मा डेरा गरी बस्ने २१ वर्षकी बबिता राई र दमक नगरपालिका-५ बस्ने ४० वर्षीय दिलीप तामाङ रहेका छन् ।

प्रहरी समक्ष उनीहरुले नवजात शिशुको हत्या गरी फालेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए। अवैध सम्बन्धबाट गर्भ रहेपछि उनीहरुले शिशुलाई फ्यालेको अनुसन्धानबाट खुल्न आएको छ। प्रहरीका अनुसार पुरुष विवाहित हुन् भने महिला अविवाहित हुन् । 

गत असोज ३ गते दिउँसो दमक-९ स्थित हिमालय गुडरिक चिया बगानको पश्चिमपट्टी बगान भित्रको झाडीमा नवजात शिशुको शव भेटिएको थियो । चिया बगान भित्र जेब्रा झोलामा ब्लाङ्ङ्केटले बेरेर प्लास्टिकको झोलाभित्र हालेर फ्यालेको अवस्थामा शव फेला परेको थियो । स्थानीय एक महिलाले जेब्रा झोला देखेपछि झोला खोलेर हेर्दा अति नै दुर्गन्ध आएपछि अन्य स्थानीयहरूलाई खबर गरेकी थिइन । स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरीको टोलीले आवश्यक प्रक्रिया पुरागरी शवलाई पोष्टर्माटमका लागि दमक अस्पताल पठाएको थियो भने प्रहरीले घटनाको अनुसन्धान त्यसै बेलादेखि सुर गरेको थियो । घटना भएको ९ दिनपछि ती महिलालाई पक्राउ गर्न दमक प्रहरी सफल भएको हो ।