धरान : धरान उपमहानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठक बिथोलिएको छ ।

बैठकको सौहर्दपुर्ण वातावरणमा बैठक अघि बढिरहेको बेला आठौँ नम्बरको एजेन्डा धरान-१७ मा रहेको सप्तरङ्गी पार्कलाई बहुसाँस्कृतीक पार्क बनाउने विषयमा छलफल अघि बढिरहेको बेलामा कार्यपालिका सदस्य अनुप देवानले आफ्नो धारणा राख्दै गर्दा मेयर हर्क साम्पाङले रोकेका थिए ।

आफ्नो कुरा अझै बाँकी रहेको बताउँदै देवानले बोल्न नरोकेपछि मेयरले भोट नमाग्नु भनेका थिए । त्यसपछि पनि देवानले आफ्नो कुरा जारी नै राखेपछि मेयरले बाहिर जानु भनेपछि बैठकमा विवाद भएको हो । कार्यपालिका सदस्यलाई बैठक कक्षबाट बाहिर जानु भनेकोले अरू कार्यपालिका सदस्यहरूले समेत आपत्ति जनाउँदै बैठक बहिस्कार गरेर बाहिर निस्किएका थिए ।   

मेयर जस्तो व्यक्तिले एउटा कार्यपालिका सदस्यलाई अपमान गरेको भन्दै आफूहरूले बैठक बहिस्कार गरेर बाहिरिएको धरान उपमहानगरपालिकाका प्रवक्ता मनोज भट्टराईले बताए । उनले मेयरले सार्वजनिक रूपमा माफी नमागे सम्म अर्को कार्यपालिका बैठकमा उपस्थिति नजनाउने बताए । 

बैठक बिथोलिएको बारेमा जिज्ञासा राख्दा मेयर हर्क साम्पाङले बर्सौँ देखि लथालिङ्ग अवस्थाको सप्तरङ्गी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने योजना ल्याउँदा त्यसलाई असफल बनाउने कोसिस गरेको बताए । लामो समय देखि लथालिङ्ग अवस्थामा भएको पार्कको संरक्षण गरौँ र सबैको अपनत्व हुने गरी निर्माण गरौँ भन्दा सदस्य देवानले भोट मागे जस्तै सबै कार्यपालिका सदस्यहरूलाई आफ्नो कुरामा सहमति जनाउन आग्रह गरेपछि आफूले रोकेको बताए । यसरी आफूले रोक्दा पनि नरोकिएपछि बाहिर जानुस् भनेको मेयर साम्पाङले स्वीकार गरे । 

सार्वजनिक माफी माग्नुपर्ने माग गरेको बारेमा मेयरले आफूले माफी नमाग्ने अडान लिँदै कार्यपालिका बैठक बहिष्कार भइरहे तोक आदेशकै भरमा उपमहानगरपालिका चल्ने बताए ।