इटहरी : नेकपा एमालेका नेता द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विगत ५ महिना भूमिका विहीन भएका चौधरीले नेकपा एमाले परित्याग गर्ने निर्णय लिएका हुन् । इटहरी उपमहानगरपालिकाका पूर्व मेयर समेत रहेका चौधरी लामो समय पार्टी र राज्यसत्ताको भूमिकामा थिए । 
पूर्व सुनसरी जिल्ला अध्यक्ष रहेका चौधरी लामो समय शक्तिशाली नेताको रूपमा रहे । गाविस अध्यक्ष हुँदै जिल्ला सचिव र अध्यक्ष भएर प्रभावशाली भूमिकामा रहेका चौधरी भूमिका विहीन भएपछि अध्यक्ष ओली विरुद्ध लागेका हुन् । पार्टी परिवर्तन गर्ने समाचार पछि प्रतिक्रिया दिँदै उनले ओलीको अहङ्कारका धूलिसाथ पार्न माओवादी प्रवेश गर्न लागेको बताएका छन् । उनी दुई कार्यकाल हाँसपोसा गाविस अध्यक्ष भए । हाँसपोसा हाल इटहरी उपमहानगरपालिकामा गाभिएको छ । जसको कारण चौधरीले उपमहानगरपालिकाको पहिलो मेयर बन्ने सौभाग्य पाए
मेयर भएको बखत पत्रकारलाई दुर्व्यवहार गर्ने नाकको डाँडी भाँच्ने अभिव्यक्ति पछि चर्चित भएका थिए । त्यस लगत्तै महिला माथि अश्लील शब्द प्रयोग गरेका उनी आफ्नै नेता कार्यकर्ता विरुद्ध खनिए । कर्मचारी माथि कुटपिट गर्ने र सेवाग्राहीलाई कार्यकक्षमा थुनेपछि पार्टी भित्रै सर्वत्र आलोचना भयो । एमाले नेताहरूले बारम्बार सम्झाउँदा समेत उनको शैली परिवर्तन भएन । एमालेका स्थानीय नेता रामप्रसाद चौलागाईको विरुद्ध सामाजिक तथा भौतिक आक्रमणमै उत्रिए । केन्द्रीय नेताहरूले व्यवहार सुधार गर्न आग्रह गर्दासमेत उनले उल्टै गालीगलौज गरे । जसले उनलाई एमाले भित्र भूमिका विहीन अवस्थामा पुर्‍यायो ।  
एमालेका नवौँ जिल्ला अधिवेशनमा जम्मा ८० मत पाए । अध्यक्षमा पराजित चौधरी केन्द्रीय सदस्य बन्ने दौडमा थिए । अध्यक्ष केपी शर्मा ओलीको लिस्टमा नपरेपछि उनी जिम्मेवारी विहीन हुन पुगे । स्थानीय निर्वाचनमा पुनः मेयर बन्ने आकाङ्क्षा राखेका उनले भुमिपुत्र चिन्न नसकेको र यसको मूल्य चुकाउनुपर्ने भन्दै प्रतिक्रिया दिएका थिए । 
पछिल्लो समय पूर्व उपमेयर लक्ष्मी गौतम, जिल्ला अध्यक्ष रेवती रमण भण्डारी र नगर अध्यक्ष यामकुमार सुब्बा विरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको विरुद्धमा देखिएका जिल्ला अध्यक्ष भण्डारीलाई उनले गालीगलौज गरिरहे । मेयरको कार्यकालको अन्तिम समयमा भण्डारी र गौतमलाई चिढ्याउन आचार्यलाई प्रमुख अतिथि बनाएर दर्जन बढी आयोजना उद्घाटन र शिलान्यास गरे । त्यस लगत्तै उपमेयर गौतमको गाडी खोसिदिए ।  
माओवादी प्रवेश गरेर सुनसरी २ (१) को प्रदेश सभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् चौधरी । एमाले भित्रको प्रभावशाली नेता प्रवेश गराएको बताउँछन् माओवादी नेताहरू । तर एमाले नेताहरू भने द्वारिकलाल चौधरीले पार्टी छाड्दा हाइसन्चो भएको प्रतिक्रिया दिन्छन् । 
चौधरीको प्रभाव खासै नभएको कारण कुनै असर नपर्ने बताउँछीन केन्द्रीय सदस्य लक्ष्मी गौतम । जिल्ला अधिवेशनमा २२ सय ८० प्रतिनिधिमा जम्मा ८० मत ल्याउनेको कुनै प्रभाव नभएको उनको भनाई छ । आगामी निर्वाचनमा झनै पार्टी सशक्त भएर अगाडी एमालेको योजना रहेको उनले सुनाइन् । 
‘चौधरी कस्तो नेता हो भन्ने सबैले बुझेका छन् । पार्टीका निष्ठावान् मत कतै जाँदैनन् । हिजो पार्टीको जिल्ला इन्चार्ज भएको धर्मराज निरौला नेकपा एकीकृत समाजवादीमा जाँदा पनि कुनै असर भएन भने चौधरीले पार्टी छाड्दा एकरती समस्या हुँदैन । उनले मेयर हुँदा गरेका गतिविधिमा सबै जानकार छन् । समुन्द्रमा एक लोटा पानी झिक्दा केही असर पर्दैन,’ उनले भनिन् । 
एमालेमा अब शुद्धीकरण अभियान सुरु हुने उपमहानगर कमिटी सचिव रुपेश बस्नेत बताउँछन् । पार्टी भित्रका अराजक गतिविधिको र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य भएको उनले बताए । हिजो चौधरी मेयर हुँदा पार्टीले शिर उठाउन सक्ने अवस्था नभएको स्मरण गराउँदै उनले अबका दिनमा नेकपा एमाले छाती खोलेर जनताको घरमा जान सक्ने अवस्था भएको तर्क गरे । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको परिणामका पछाडि उनको हात रहेको एमालेले ठहर गरेको उनी बताउँछन् । यसलाई एउटै पाटीमा बसेर आफ्नै नेता कार्यकर्ताको बेइज्जत गर्ने अराजक गतिविधिको अन्त्य भएको सङ्केतको रूपमा लिनुपर्ने उनी सुझाउँछन्  ।