झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा आएका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन एमाले अध्यक्ष ओली झापा आएका हुन् । सौर्य एयरलाइन्सबाट आएका अध्यक्ष ओली आज दिउँसो साढे २ बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका थिए । 
अध्यक्ष ओलीलाई विमानस्थलमा नेता सुभाषचन्द्र नेम्बाङ लगायत नेता तथा कार्यकर्ताहरू स्वागत गर्न पुगेका थिए ।  
भोलि (आइतबार) प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवार मनोनयन दर्ता गर्ने दिन हो । एमाले अध्यक्ष ओली भोलि दिउँसो १२ बजे दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । ओली सातौँ पटक आफ्नो निर्वाचनबाट चुनाव लडदैछन् ।