धरान : सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ बाट प्रदेश सभा सदस्य पदका लागि काँग्रेसको बागी उम्मेदवार बनेका काँग्रेसका युवा नेता रोहित सुब्बाले चुनाव चिन्ह क्यालकुलेटर प्राप्त गरेका छन् ।
गठबन्धनको तर्फबाट टिकट पाएका नेकपा एकीकृत समाजवादीका रेवती रमण राई विरुद्ध उम्मेदवार बनेका सुब्बा नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभामा उम्मेदवारको आकाङ्क्षी थिए । तर गठबन्धन गर्दा उक्त क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । पार्टी नेतृत्वले सङ्गठन र जनाधार नै नभएको पार्टीलाई गठबन्धनका नाममा टिकट दिएर जनभावना विपरीत काम गरेकाले स्वतन्त्र उम्मेदवारी दिएको सुब्बाले बताए ।
रामधुनि नगरपालिका वडा नं ६ इचौल घर भएका सुब्बा नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि, तरुण दल सुनसरीका उपसभापति समेत हुन् ।
युवा माझ निकै लोकप्रिय सुब्बाको उम्मेदवारीलाई अर्थ पूर्ण रूपमा हेरिएको छ । सामाजिक हरेक गतिविधिमा संलग्न हुँदै आएका सुब्बा निर्वाचन क्षेत्रमा परिचित छन् ।
उनको उम्मेदवारीले गठबन्धनका उम्मेदवार रेवती रमण राईलाई सङ्कटमा पार्ने देखिएको छ । सुनसरीको क्षेत्र नं. १ प्रदेश सभा २ मा धरानका ११, १६,१७, १८, २० नम्बर वडा सहित रामधुनी नगरपालिकाका ६ र ७ नं वडा तथा वराहक्षेत्र नगरपालिकाका १,२,३,४,५ नम्बर वडा पर्दछन् ।