सुनसरी : पुर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्र सुनसरीका नेता जाकिर हुसेन सहित अन्य १५ जना नेता तथा पार्टी कार्यकर्ता एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौँमा हुसेन सहित माओवादी केन्द्रका प्रदेश सदस्य, जिल्ला सदस्यहरूलाई पार्टी प्रवेश गराएका हुन् ।
माओवादी केन्द्र परित्याग गरी एमाले प्रदेश गर्नेमा हरिनगर गाउँपालिका पार्टी अध्यक्ष तथा जिल्ला सदस्य मोहन यादव, उपाध्यक्ष चन्दर पोदार, सचिव तुफेल अन्सारी त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका पार्टी सचिव भूपेन्द्र साह सहित ७ जना छन् । त्यस्तै माओवादी प्रदेश कमिटी सदस्य हैदर अलि समेत एमाले प्रवेश गरेका छन् ।
उनीहरूलाई एमालेका केन्द्रीय सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगदीश प्रसाद कुसियैत, प्रदेश सभा सदस्य उम्मेदवार अब्बास अन्सारी तथा एमालेका नेता लस्करी अन्सारीको विशेष पहलमा प्रवेश गराइएको हो ।
२०७४ सालको प्रदेशसभा चुनावमा सुनसरी क्षेत्र नम्बर ४ (१) मा तत्कालीन वाम गठबन्धनको तर्फबाट उम्मेदवार जाकिर हुसेन आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावको लागि नेकपा माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिमा थिए ।
आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबाट क्षेत्र नम्बर ४ प्रतिनिधि सभा तथा प्रदेशका दुवै क्षेत्र काङ्ग्रेसको भागमा परेको थियो ।
काँग्रेसले भाग नदिएपछि त्यस क्षेत्रका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पनि असन्तुष्ट पोख्दै आएका छन् । क्षेत्र नम्बर ४ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की उम्मेदवार छन् ।
उक्त क्षेत्रमा प्रभावशाली रहेको जनता समाजवादी पार्टीले एमालेसँग गठबन्धन गरेसगैं काङ्ग्रेसका उम्मेदवारलाई सकस परिरहेका बेला माओवादीको केन्द्रीय सल्लाहकार समिति सदस्य समेत रहेका हुसेनको पार्टी परित्यागले झनै असर पर्ने स्थानीय नेताहरू बताउँछन् ।