धरान : आगामी मङ्सिर ४ को आसन्न निर्वाचनमा सुनसरी जिल्लाको १ सय ६६ मतदानस्थल मध्ये ५९ मतदान स्थल अति संवेदनशीलको सुचीमा सूचीकृत गरिएको छ ।
जिल्ला सुरक्षा समितिले सुनसरीको १ सय ६६ मतदान स्थल र ५ सय ९१ मतदान केन्द्र मध्येबाट सुरक्षाको दृष्टिले अति संवेदनशीलको सुचीमा ५९ मतदान स्थलका १ सय ८४ मतदान केन्द्रलाई सूचीकृत गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिएका छन् ।
जिल्लाको ६५ मतदान स्थल र २ सय ८१ मतदान केन्द्रलाई संवेदनशीलको सुचीमा सूचीकृत गरिएको छ भने ४२ मतदान स्थल र १ सय २६ मतदान केन्द्रलाई सामान्यमा वर्गीकरण गरेर निर्वाचन सुरक्षा रणनीति अघि बढाइएको छ । विगतमा भएका घटनाहरूको आधार र जिल्लाको दक्षिण बेल्टको सीमा क्षेत्र लगायतको आधारमा मतदान स्थलहरूको वर्गीकरण गरिएको प्रमुख ढकालले कपुरी न्युजलाई बताए ।
मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण तयार गर्न सुनसरी प्रहरी लागि परेको बताउँदै उनले भने मतदान स्थलको सुरक्षा तीन घेरामा हुनेछ । पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाको सुरक्षा रहने छ ।
जिल्लाको कुन निर्वाचन क्षेत्रको कुन ठाउको मतदान स्थल संवेदनशील, अति संवेदनशील हो भन्ने बारेमा भने आन्तरिक सुरक्षा रणनीति भित्र पर्ने भएकोले यसबारेमा भने खुलाइएको छैन ।