इटहरी : नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले महाधिवेशन र स्थानीय निर्वाचनको तुस त्याग्नुपर्ने भन्दै कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका छन् । 
मङ्सिर ४ को निर्वाचन केन्द्रित कार्यकर्ता भेटघाटमा व्यस्त रहेका डा.शेखरले सभापति शेरबहादुर देउवा सँग आफ्नो मित्रवत् सम्बन्ध रहेको बताएका हुन् । 
मोरङको सुन्दरहरैचा-५ मा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले अधिवेशन पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा भएकाले त्यसलाई लामो समय राख्न नहुने बताए । कार्यकर्तामा एकता भए चुनाव सहजै जितिने भन्दै उनले त्यसको लागि सबै तयार रहन आग्रह गरे । 
'स्थानीय निर्वाचनमा के भयो, अधिवेशन मा के भयो, त्यो तुसलाई सबैले त्यागौँ । मैले त्यगीसके तपाईँहरूले कि नत्यागेको हो मैले बुझ्या छैन । शेरबहादुर जी र म सँगै लडेको हैन ? त्यहीबाट ग्रुप बनेको हैन ? शेरबहादुर जी र म मिलिसकेपछि यहाँ वडामा किन झगडा गरिरहनु भएको छ मैले बुझेको छैन ।’ उनले भने, ‘प्रतिस्पर्धा शेरबहादुर जी र मेरो तल देखी माथि सम्म भयो । अब त्यो प्रतिस्पर्धा समाप्त भइसक्यो ।
 म पटक पटक गएर शेरबहादुर जी सँग भेटिरहेको छु । मेरो कुरा मानिरहनु भएको छ । तपाईँहरू चाहिँ केको लागि लडिरहनु भएको छ ? के पाउनु हुन्छ ? केही पनि पाउनु हुन्न । अब आन्तरिक रूपमा लड्न छाड्नुहोस् ।’
भिडियो :