विराटनगर : नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्टर शेखर कोइरालाको क्षेत्र मोरङ ६ पुगेर गठबन्धनको पक्षमा मत मागेका छन् । विराटनगरको मनास्लु होटेलमा आयोजित संयुक्त भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा कुनै विवाद नभएको भन्दै गठबन्धनको चुनाव चिन्हमा मत मागे । 
यसअघि डाक्टर शेखर कोइरालाले सभापति देउवा र आफू बिच कुनै विवाद नभएको बताएका थिए । मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा उम्मेदवार रहेका डाक्टर शेखरले पार्टीमा एकता बढेको बताएका थिए । 
मोरङ ६ को प्रदेश १ मा माओवादी केन्द्रका जीवन आचार्य र २ मा काँग्रेसका केदार कार्की उम्मेदवार छन् । पार्टी र गठबन्धन बिच एकता देखाउन कोइरालाकै क्षेत्रमा भेला आयोजना गरिएको हो । 
सम्बोधनको क्रममा देउवाले रुख नभएको ठाउँमा हँसिया हथौडा र कलममा भोट हाल्न निर्देशन दिए । 
अहिलेको गठबन्धन १२ बुँदे सहमति देखि गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल र माधव नेपालले सुरु गरेको बताए । त्यहिबेला देखि सुरु भएको गठबन्धनले अहिले निरन्तरता पाएको उनले आश्वस्त पारे । 
स्थानीय निर्वाचनमा जस्तो अहिलेको चुनावमा कुनै दुबिधा नरहेको बताउँदै उनले कुनै पनि हालतमा गठबन्धनले जित्न आवश्यक रहेको बताए । अहिले टिकट नपाएका कार्यकर्तालाई आश्वासन दिँदै उनले भने, "गठबन्धनले जित्यो भने धेरै अवसर आउँछ । पार्टीमा हामी सबै मिलेका छौँ। ओलीजीले पनि गठबन्धन गरेका छन् । त्यसैले गठबन्धनलाई जिताउन लाग्नुस् ।"