वैदिक सनातनी नेपालीहरूको महान् चाड तिहार, आज यमपञ्चकको दोस्रो दिन काग तिहार ।‌‌ आज कागलाई विशेष तवरले पूजा गरी मिष्टान्न खानेकुरा खुवाउँदै, दिदी बहिनीले दाजुभाइलाई भाइटिकाको निम्तो गरी काग तिहार हर्षोल्लासका साथ देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूले मनाउँदै छन्। 
धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रूपमा मानिएको कागलाई यमदूतकै रूपमा पूजा गरेर खानेकुरा दिई पूजा गर्ने गरिन्छ।
काग अत्यन्त चतुर र चलाख एवम् सर्वभक्षी प्राणी हो। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङ्ग्राहरू खाइदिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो। 
पौराणिक कथन अनुसार काग तिहारकै दिन सूर्य पुत्र यमराजकी बहिनी यमुनाले सन्देश बाहक काग मार्फत यमराजलाई भाइटिका लगाउने निम्तो पठाएकी थिइन्। 
यमराजले आफ्नी बहिनीले पठाएको निम्तो सुन्नासाथ यमपुरी छाडेर यमुनाका घरमा गई रमाइलो गरेका हुनाले यस पाँच दिनलाई यमपञ्चक भनिएको हो। 
यसरी बहिनीका घरमा बसेर रमाइलो गर्दा एवम् बहिनीको  हातको टिको लगाउँदा यमराज प्रसन्न भई मनवाञ्छित वर माग भनी यमुनालाई भन्दा, 'यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल एवम् निश्चल  रहोस् र दाजु भाइको आयु, कीर्ति सदा वृद्धि होस्' भन्ने वरदान मागिन्।
यमराजले पनि तथास्तु ! भन्दै मन, वचन, कर्म र शुद्ध चित्तले भ्रातृ पूजा गर्ने गराउनेहरूको सदा उन्नति होस् तथा कीर्तिवर्धक हुने वर दिई आफ्नी बहिनीसँग बिदा भई गए। यसरी प्राचीन काल देखि अहिलेसम्म निरन्तर रूपमा काग तिहार मनाइँदै आइएको हो।