वैदिक सनातनी नेपालीहरूको महान् चाड यमपञ्चकको दोस्रो दिन आज काग तिहार एवम् आज बिहान ९ बजेर २२ मिनेट उपरान्त चतुर्दशी तिथि लागे पश्चात् आज नर्के चतुर्दशी अर्थात् कुकुर तिहार । आज काग र कुकुरलाई विशेष तवरले पुजागरि मिष्टान्न खानेकुरा खुवाइँदै छ।

आज सबेरै घाम झुल्कनु भन्दा अगाडी नै उठी शरीरको कुनै पनि भाग खाली नराखी तेल लगाएमा शरीरमा भएका सम्पूर्ण रोग नष्ट हुने र नलाग्ने धार्मिक मान्यता रहेको छ ।आज कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरेर कुकुर तिहार मनाइँदैछ भने कागलाई पनि खानेकुरा राखी फूल माला चढाई काग तिहार मनाईंदैछ । तिहारको रौनक सुरु भइसकेका हुनाले चौक बाटा, गल्लीहरू झिलिमिली हुन थालिसकेका छन् ।

काग तिहार

kaag-tihar

धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रूपमा मानिएको कागलाई यमदूतकै रूपमा पूजा गरेर खानेकुरा दिई पूजा गर्ने गरिन्छ । काग अत्यन्त चतुर र चलाख एवम् सर्वभक्षी प्राणी हो। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङ्ग्राहरू खाइदिन्छ। काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो।

पौराणिक कथन अनुसार काग तिहार कै दिन सूर्य पुत्र यमराजकी बहिनी यमुनाले सन्देश बाहक काग मार्फत यमराजलाई भाइटिका लगाउने निम्तो पठाएकी थिइन्। यमराजले आफ्नी बहिनीले पठाएको निम्तो सुन्नासाथ यमपुरी छाडेर यमुनाका घरमा गई रमाइलो गरेका हुनाले यस पाँच दिनलाई यमपञ्चक भनिएको हो। यसरी बहिनीका घरमा बसेर रमाइलो गर्दा एवम् बहिनीको हातको टिको लगाउँदा यमराज प्रसन्न भई मन वाञ्छित वर माग भनी यमुनालाई भन्दा, 'यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने', साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल एवम् निश्चल रहोस् र दाजु भाइको आयु, कीर्ति सदा वृद्धि होस्' भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु! भन्दै मन, वचन, कर्म र शुद्ध चित्तले भ्रातृ पूजा गर्ने गराउनेहरूको सदा उन्नति होस् तथा कीर्तिवर्धक हुने वर दिई आफ्नी बहिनीसँग बिदा भई गए। यसरी प्राचीन काल देखि अहिलेसम्म निरन्तर रूपमा काग तिहार मानाईदै आइएको हो।

नरके चतुर्दशी (कुकुर तिहार)

Kukur-Tihar

प्रत्येक वर्षको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ। आजको दिनलाई नरके चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ।

कुकुर आज्ञाकारी, घर रक्षक एवम् गुनिलो घरपालुवा जनावर पनि हो । कुकुर इमानदार र वफादार जनावर पनि हो। घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । कुकुर भगवान् भैरवको बहान पनि हो।आजको दिन पाप नास गर्न तथा नरकलाई खुसी पार्न नर्के नुहाउने चलन छ। नुहाइसकेपछि दीप दान गर्ने चलन रहेको छ।