सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर चार नेपाली काङ्ग्रेस सहितको ५ दलीय गठबन्धनका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले मुख्य चुनावी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतलाई प्रश्न गरेका छन् । 
कार्कीले कुसियैतलाई प्रदेश सरकारको मन्त्री भएकाले के गर्नु भयो ?, अहिले जितेर के गर्नु हुन्छ? भन्दै प्रश्न गरेका हुन् । भोक्राहा नरसिंह गाउँपालिकामा चुनावी सभालाई सम्बोधनमा उनले कुसियैत प्रदेश सरकारको मन्त्री भएकाले यो क्षेत्रका लागि कुनै पनि विकासको काम गर्न नसकेको आरोप लगाए । उनले प्रतिस्पर्धीलाई गाली गरेर आफू भोट नबटुल्ने बताउँदै जनताको माग अनुसार विकास गरेर देखाउने बताए । 
काङ्ग्रेस नेतृत्वको सरकारले छोटो समयमा सुनसरी चारले धेरै विकासका आयोजना पाएको बताए । उनले अब पाँच दलीय गठबन्धनलाई जिताए फेरी यिनै पार्टीहरूको सरकार बन्ने र देश आर्थिक समृद्धि तर्फ अघि बढ्ने समेत बताए । कार्कीले अहिलेको गठबन्धन देशको आवश्यकता रहेको बताउँदै यसलाई जोगाई राख्न पनि अहिलेको निर्वाचन महत्त्वपूर्ण रहेको तर्क गरे ।