धरान : कुमार कार्की मङ्सिर ४ गतेको निर्वाचनको लागि सङ्घीय स्वतन्त्र उम्मेदवार भएर सुनसरी क्षेत्र नम्बर १ को चुनावी मैदानमा छन् । 
कार्कीले ७ वर्ष अघि निकै महत्त्वाकाङ्क्षी योजना अघि सारेका थिए । पत्रकार सम्मेलन नै गरी सरकारलाई नै चुनौती दिएर सुकुम्वासीले देश भरीबाट १ रुपैयाँ सङ्कलन गरेर राष्ट्रिय अस्पताल बनाउने भनेर धरानबाट अभियान नै चलाए । तर अहिले उनी चुनावी मैदानमा हुँदा त्यो अभियानले आफैँलाई गलपासो  भएको छ । 
उनी आलोचित बन्न पुगेका छन् । उनको अभियान न त पुरा हुन सक्यो नत अहिले सम्म सङ्कलन गरेको १ रुपैयाँ अभियानको खर्च नै पारदर्शिता गरेका छन् । जसले गर्दा उनलाई सुकुम्वासीलाई ढाल बनाएर कार्कीले कमाइखाने भाँडो बनाएको आरोप लाग्दै आएको छ । यस विषयमा न त उनले प्रस्ट नै पार्न सकेका छन् ।  उनको त्यो अभियानको बारेमा सामाजिक सञ्जालमा समेत आलोचना भएको छ । ‘राष्ट्रिय अस्पताल बनाउने १ रुपैयाँ अभियान कहाँ पुग्यो कुमार कार्की’उम्मेदवारलाई यस्ता प्रश्न कै कारण चुनावमा अप्ठ्यारो परेको छ ।
कार्कीको पृष्ठभूमि सुकुम्वासीलाई आधार बनाएर उदाएका हुन् । धरान निवासी कार्कीलाई सुकुम्वासी नेताको रूपमा पहिचान बनाए । हाल उनी नेपाल बसोबास बस्ती संरक्षण समाजको केन्द्रीय महासचिव समेत छन् । 
धरानको सुकुम्वासीको आधारले नै कार्कीले अहिले सम्म खुड्किलो बनाउँदै अघि बढेका छन् । कार्कीले सुकुम्वासीको हक अधिकारको लागि आफू अहोरात्र लागि परेको दाबी गर्दै सुकुम्वासीको एजेन्डालाई नै प्राथमिकता बनाएर मङ्सिर ४ गतेको चुनावमा उठेका छन् । त्यहीँ सुकुम्वासीको एजेण्डा नै आफ्नो दरिलो आधार भएको कार्की दाबी गर्छन् । चुनावी मैदानमा सुकुम्वासी बस्ती-बस्तीमा जग्गाधनी पुर्जा ग्यारेन्टी गर्ने प्रतिबद्धता र आश्वासन समेत बाँड्दै हिँडेका छन् । तर उनी कुनै दलीय उम्मेदवार होइनन् । 
धरानका एक सुकुम्वासीले भने, ‘हामी जहाँको त्यहाँ छौ, तर हाम्रो सुकुम्वासी नेता चिल्लो गाडी र आलिसान महलमा बस्ने भएका छन्, उनले हाम्रो लागि होइन आफ्नै लागि कमाउने काम गर्दैछन्, यस्ता नेताबाट सुकुम्वासीले के आसा गर्ने ?’ 
स्वतन्त्र उम्मेदवारले सङ्घीय सदस्य भएर कति नीति निर्माण तहमा पहुँच र निर्णायक भूमिका खेल्न सक्छन् भन्ने कुरा भने उनी स्वयम्ले हेक्का नै नराखे झुठो आश्वासन बाँडेका छन् । उनलाई नै जिताउने भनेर लागि परेको निकटमा सहयात्री पनि उनलाई साथ छाडेका छन् । उनको निकटतम सहयात्री अहिले लोकतान्त्रिक वाम गठबन्धनको उम्मेदवारलाई जिताउन उम्मेदवारसँगै मत माग्न थालेका छन् । नाम नबताउने सर्तमा ती नेताले भने-‘प्रतिनिधि सभामा स्वतन्त्रको काम छैन । दलीय राज्य व्यवस्थामा दलका प्रभावशाली नेतालाई जिताउँदा हाम्रो क्षेत्रको विकास हुन्छ ।’
जसले गर्दा पनि कार्की निर्वाचनको सङ्घारमा आएर एक्ला हुँदै गएका छन् । कार्कीले आफू स्वतन्त्र उम्मेदवार भनेर दाबी गरे तर राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गरेपछि स्वतन्त्र उम्मेदवार प्रति उनको समर्थकै विश्वास गुमाएपछि झनै सकस भएको उनी निकटका बत्ताउँछन् । 
यता कार्कीले एक रुपैयाँ सङ्कलन गरेर अस्पताल बनाउने अभियानबारे फेसबुकमा स्ट्याटस लेख्दै धरानको राष्ट्रिय वाणिज्य बैकमा सुरक्षित भएको भन्दै खोजी गर्न खाता नं. उल्लेख गरेका छन् ।