विराटनगर : प्रदेश निर्वाचन कार्यालय विराटनगरले निर्वाचन प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लङ्घन भएको भन्दै कारबाही प्रक्रिया अघि बढाउन बाध्य नपार्न उम्मेदवारलाई निर्देशन दिएको छ । 
राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन प्रचार प्रसारका क्रममा सिटी सफारीहरूमा आचारसंहिता विपरीतका पर्चा पम्प्लेटहरु टाँसेको तथा तुल ब्यानरहरू राखेर ध्वनि प्रदूषण नै हुने गरी सडकका चोक-चोक गल्लीहरूमा माइकिङ गर्दै हिँड्ने गरेको पाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
कतिपय उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको विषयमा निर्वाचन कार्यालय र प्रमुख जिल्ला अधिकारीहरूको ध्यानाकर्षण गराएपछि प्रदेश निर्वाचन कार्यालयले सोमबार निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरू राखेर आचारसंहिता विपरीतका गतिविधि नगर्न निर्देशन दिएको हो । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले भने,‘आचारसंहिता उल्लङ्घनमा कारबाही अघि बढाउनु नपरोस् ।’ राजनीतिक दल तथा उम्मेदवारलाई कारबाहीको भागीदार बनाउनु नपरोस् भन्ने आफूहरूको चाहना भएको उनले बताए । 
आचारसंहिताभित्र रहेर निर्वाचनका प्रचारप्रसार गर्न उनले अनुरोध गरेका छन् । जुलुस, आमसभा, कोणसभा, घरदैलो बाहेकको अवस्थामा सवारीमा माइक जोडेर हिँड्न नपाइने उनले बताए । निर्वाचन कार्यालयले आमसभा लगायतका मञ्च प्रयोग गरी गरिने कार्यक्रमहरूको खर्च विवरण निर्वाचन सम्पन्न भएको १५ दिनभित्र बुझाउन पनि राजनीतिक दलहरूलाई आग्रह गरेको छ । 
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अनुमति नलिएका सवारीमा झन्डा, तुल ब्यानर राख्ने नपाइने बताए । अनुमति विनाका सवारीमा झन्डा, तुल ब्यानर राखेको पाइएमा कारबाही हुने प्रजिअ दाहालले बताए । मोरङमा तीन सय ६  मतदान स्थल र आठ सय ३९ केन्द्र  निर्धारण गरिएको छ । 
मोरङ जिल्ला कारागार र आदर्श पुस्तकालय विराटनगरमा गरी दुई स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर ४ गते निर्वाचन हुदैछ । मोरङमा कुल मतदाता सात लाख ३५ हजार पाँच सय २५ छन् ।