सुनसरी : आगामी मङ्सिर चारमा हुने निर्वाचनमा सुनसरी क्षेत्र नम्बर एक लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मुक्साहाङ मेन्याङ्बो (मुकेश)ले चतरा-विष्णुपादुका हुदैं भेडेटार केबलकार सञ्चालन गर्न सकिने बताएका छन् । 
वराहक्षेत्रको वडा नम्बर ६ मा चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस क्षेत्रको विकासमा पर्यटनका माध्यमबाट अघि बढाउने आधार बताउँदै केबलकार सञ्चालन गर्न सकिने बताएका हुन् । 
उनले धार्मिक तथा सांस्कृतिक रूपमा अपार सम्भावनाको क्षेत्र भएको बताउँदै यसलाई स्थानीयको आम्दानी र पर्यटनको केन्द्र बनाउने सकिने बताए । यसका लागि वराहक्षेत्र, चतरा, विष्णु पादुका मन्दिर हुदैं भेडेटार केबलकार सञ्चालन गर्न सके यो क्षेत्रको विकासले फड्को मार्ने समेत तर्क राखे । 
आफू युवा भएको हिसाबले पनि धेरै मतदाताले विश्वास र भरोसा देखाएको बताउँदै यो उत्साहले चुनावमा विजयी हुने सङ्केत गरेको दाबी गरे । यस अघिका जनप्रतिनिधिले जनतामाझ झुटा आश्वासन बाँड्ने गरेको आरोप लगाए । ‘चुनाव अघि यो गर्छौ त्यो गर्छौ भन्ने तर जितेपछि आफ्नो क्षेत्रको समस्याबारे केही नगर्ने प्रवृत्तिले जनतामा निराशा पैदा गरेको छ ।’ उनले भने “अब हामी त्यसो हुन दिने छैनौँ जनतामाझ चुनाव जितेपछि समस्या बुझ्न आउने छौँ, शासक हैन सेवक बनेर काम गर्नेछौँ ।” 
उनले स्थानीय सरकार, प्रदेश सरकार सङ्घीय सरकार सँग समन्वय गरेर बक्लौरी धरान जोड्ने सडक, चतरा-सुर्यकुण्ड सडकलाई प्राथमिकताका साथ अघि बढाउने बताए । 
धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय देखि भ्रष्टाचार तथा बेथिति रहेको बताउँदै यस पूर्ण रूपमा अन्त्य गर्न आफूले महत्त्वपूर्ण भूमिका खेल्ने समेत तर्क राखे । त्यस्तै खेलकुदमा भविष्य देख्ने युवाहरूका लागि विशेष योजना सहित खेलकुदको समेत विकास गर्ने उनको दाबी छ ।
अहिलेको पाँच दलीय गठबन्धन लोकतन्त्र र संविधान रक्षाका लागि भएको बताउँदै मेन्याङबोले देशको आर्थिक विकासलागि गठबन्धन सरकारले उल्लेखनीय भूमिका खेल्ने समेत तर्क गरे ।