इटहरी : मोरङको क्षेत्र नम्बर ४ (२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् । विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले प्रदेश सरकारका पूर्व मन्त्री एमालेका उम्मेदवार जीवन घिमिरेलाई पराजित गरेका हुन् । 
पराजुलीले ११ हजार ४७९ मत पाउँदा पूर्व सामाजिक विकास मन्त्री घिमिरेले ९ हजार ६ सय ९१ मत ल्याए । १ हजार ७ सय ८८ मतान्तरले विजयी भएसँगै पराजुली प्रदेशसभा सदस्यको जिम्मेवारीमा पुगेका छन् । 
पराजुली हालसम्म कुनै पनि निर्वाचनमा पराजित भएका छैनन् । महेन्द्र मोरङ क्याम्पस विराटनगर मा नेपाल विद्यार्थी सङ्घबाट बागी उम्मेदवारी दिएर पनि स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका थिए पराजुली । त्यही निर्वाचनबाट उनको राजनैतिक यात्रा बलियो बन्दै गएको हो । 
नेपाली काँग्रेस नगर सभापति हुँदै महानगरको पहिलो मेयर हुने सौभाग्य उनै पराजुलीले पाए । काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य विजयी भएका उनी प्रभावशाली नेताको रूपमा चिनिन्छन् ।