धरान : धरान ईन्टरनेसनल कलेजद्वारा पकाउने कलाको विकास गर्न आयोजित २१ दिने कलिनरी वर्कसप सम्पन्न भएको छ। धरान ईन्टरनेसनल कलेज अफ होटेल म्यानेजमेन्टले सुरु गरेको वर्कसपको समापन शुक्रवार धरान १८ स्थित कलेजमा सम्पन्न भएको हो । 
स्वीट्जरल्यान्डका एक्ज्युकेटिभ सेफ गुनथर नट्जको प्रशिक्षणमा सम्पन्न तालिममा विद्यार्थीले इटालियन तथा कन्टिनेन्टल परिकार, किचन हाइजिङ, फुड डेकोरेसन, फुड स्टोरेज लगायतका सिप सिकेका थिए । समापनको कार्यक्रम कलेजले अतिथिहरूलाई एपटाईजर्समा पटाटो सुप, सलाद, मेन कोर्समा हर्ब राईस, प्यान चिकेन विद भेजटेबल्स लगायतका परिकारहरू चखाएका थिए।  
तालिमको औपचारिक समापन भए पनि सेफ नट्जलाई भने मंगलबार मात्र बिदाइ गरिने कलेजका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्र श्रेष्ठले बताए । ८ वर्ष अगाडी स्थापना भएको कलेजमा हाल ४२ जना विद्यार्थी अध्ययनरत रहेको र कलेजबाट अध्ययन सकेका हाल सम्म ३ सय भन्दा बढी विद्यार्थी हस्पिटालिटी क्षेत्रमा कार्यरत रहेको उनले जनाए । 
धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा युवा नेता भिमज्वाला राई, नेपाल पत्रकार महासङ्घ सुनसरिका अध्यक्ष जनकॠषि राई सुनसरि  उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, डा. विकाश शाह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम तालिमका कोअर्डिनेटर सञ्जीव बान्तवाले सञ्चालन गरेका थिए ।
DIC-calinary-news