सुनसरी : सुनसरी ४ मा रोकिएको मतगणना कार्य तत्काल सुचारु नभए सडक आन्दोलनमा उत्रिने नेकपा एमालेले चेतावनी दिएको छ। आज दिउँसो सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीले पत्रकार सम्मेलनको आयोजना गर्दै तत्काल रोकिएको मत गणना गर्न माग गरेको हो। 
नेकपा एमालेका क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगदीश प्रसाद कुसियैतले समयमा मतगणना नगरेर धाँधली गर्न विपक्षीहरू सक्रिय रहेको आरोप लगाउँदै आयोगलाई तत्काल मतगणना सुचारु गर्न माग गरे । उनले ३ दिन बितिसक्दा पनि आयोगले कुनै निर्णय गर्न नसक्नुले आयोग माथि नै शङ्का बढेको समेत टिप्पणी गरे । 
सत्ता गठबन्धनका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले आफू विजयी हुन अनेक बखेडा निकालेको तथा सरकारमा बसेर सत्ताको दुरुपयोग गरेको समेत कुसियैतले आरोप लगाए । विपक्षीले माग गरेको पुनः मतगणनामा एमालेको आपत्ति रहेकाले अहिले गणना भएको मतलाई सदर गर्दै बाँकी मत गणना गर्नु पर्ने उनको भनाई छ ।  सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा करिब ६० हजार मतगणना पछि ३ दिन देखि  बाँकी मतगणना स्थगित छ । 
काँग्रेसले किन स्थगित गरायो मतगणना 
मत परिणाममा असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसले स्थगित गराएको सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना अझै सुरु भएको छैन । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना भइरहँदा नेकपा एमालेका उम्मेदवारले पाएको भन्दा बढी मतगणना गरिएको भन्दै त्यसलाई सच्याउनु पर्ने माग सहित नेपाली काँग्रेसले शनिवार दिउँसोबाट मतगणना रोकेको हो । सुनसरीको सदरमुकाम इनरुवा स्थित भगवती माध्यमिक विद्यालयमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुशियैतले पाएको भन्दा बढी मत उनको पक्षमा गणना गरिएको देखिएको हुँदा त्यसलाई सच्याउने मागसहित मतगणना स्थगित गराइएको नेपाली काँग्रेस सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का सचिव रोशन खड्काले जानकारी दिए । 
उनका अनुसार शुक्रवार राति मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम सुचीमा नेकपा एमालेको मत परिणाममा ६०६ मत थप गरी सार्वजनिक गरेपछि नेपाली काङ्ग्रेसले निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरूले धाँधली गरेको आरोपसहित निवेदन दिएर नेपाली काङ्ग्रेसले मतगणना स्थगित गराएको हो । 
उक्त विषयमा आवश्यक छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार साँझ र आइतबार बिहान दुई पटक सर्वदलीय बैठक डाकेको भए पनि सहमति हुन सकेको छैन । आफूहरूलाई धाँधली गरेको आशङ्का लागेर मतगणना स्थगित गराएको बताउँदै सचिव खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफूहरूलाई आश्वस्त पारेको अवस्था मात्रै मतगणना सुरु हुने बताए । 
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने वराहक्षेत्र नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा वराहक्षेत्र नगरपालिका-८ मा ६०६ मत थप गरी २० हजार २११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरीले सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको थियो । सर्वदलीय बैठकमा बोल्दै  मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद अधिकारीले त्रुटि भएको स्वीकार गर्दै त्रुटि सच्याएर मतगणना सुरु गराउन सबैमा आग्रह गर्दै आएका छन् । यद्यपि विवाद समाधानका लागि सर्वदलीय बैठक बसे पनि सहमति जुट्न भने सकेको छैन । 
आइतबार दिउँसो सम्पन्न बैठक बिना निष्कर्ष टुङ्गिएको थियो ।  बैठकमा नेपाली काँग्रेसले गणनामा धाँधलीको आशङ्का गर्दै पुनः मत गणनाको माग दोहोर्‍याउँदै आएको छ । सर्वदलीय बैठक डाकी मध्यमार्गी बाटो खोज्ने प्रयास भएको भए पनि सहमति भने जुट्न सकेको छैन । काँग्रेसका उम्मेदवार तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गणना प्रक्रियामा कर्मचारीको हेलचेक्र्याइँ देखिएकाले समग्र परिणाम प्रति नै आशङ्का व्यक्त गरेका छन्  ।सोही कारण नेपाली काँग्रेसले  पुनः मतगणनाको अडान राख्दै आएको अवस्था छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा ६०६ मत बढी थपिएपछि विवाद भएको हो । निर्वाचन अधिकृतले आयोगमा पठाएको ६०६ मत आयोगले सार्वजनिक गर्दा १२१२ मत भएपछि काँग्रेसले आपत्ति जनाएको थियो। यसरी थप देखिएको ६०६ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरे पनि नेपाली काँग्रेसका उम्मेदवार कार्कीले त्यो प्रस्ताव मानेका छैनन्। ‘सुरुदेखि नै एमाले उम्मेदवारको मतमा यसरी नै मत थपिएको आशङ्का भयो,’ सर्वदलीय बैठकमा कार्कीले भने, ‘त्यसैले यहाँ मतगणना सुरुदेखि नै हुनुपर्छ।’ मतगणना चलिरहेको अवस्थामा  एकै चोटि ६०६ रुखको मत सूर्यमा जोडी माइकमा अनाउन्स गरियो हामीले समातेपछि फेरि सच्याइयो नेपाली काँग्रेसका एक नेता भने "मतगणना गर्ने बेलामा रुख चिन्हमा मोहर लागेको मतलाई हाम्रो सूर्य भन्न पाउँछन् मतगणनामा खटिएका कर्मचारीहरूले ?" ती नेताले गम्भीर आरोप लगाउँदै प्रश्न गरे । 
गणना गर्ने बेलामा रुखमा आएको मतलाई सूर्यमा धर्को लगाउँदा एक प्रहरीले हेरेर रुख हो सूर्यमा धर्को तानियो भनेपछि ती मतगणनामा खटिएका कर्मचारीले गल्ती भयो भन्दै गल्ती स्वीकार गरेको प्रमाण आफूहरूसँग सुरक्षित रहेको नेपाली काँग्रेसले जनाएको छ ।
मतगणनामा रहेका कर्मचारीहरू एमालेका केही व्यक्तिको इच्छाअनुसार मतगणना स्थलमा खटेर काम गरेको देखिएको नेपाली काँग्रेसले आरोप लगाएको छ । यता एमाले उम्मेदवार जगदीश प्रसाद कुसियैतले भने काँग्रेसको आरोप निराधार रहेको बताएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै मतगणना र सुरक्षा व्यवस्थामा चुक नभएको बताएकाले गणना रोकिनु नहुने बताएका हुन् । 
अपडेटमा कर्मचारीको त्रुटिका कारण दोहोरो गणना हुन पुग्यो : आयोग
मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद अधिकारीले सर्वदलीय बैठकले सहमतिको प्रयास गरिरहेको  बताए । उनले गणनामा असहजता देखिएकाले मत गणना रोकिएको जानकारी दिँदै सर्वदलीय  बैठकको निर्णय बमोजिम अघि बढ्ने बताए । मुख्य निर्वाचन अधिकृत अधिकारीले विवादका रूपमा रहेको वराहक्षेत्र ८ को  ६०६ मत स्थानीय अपडेटमा कर्मचारीको त्रुटिका कारण दोहोरो गणना हुन पुगे पनि आयोगको मूल डाटामा इन्ट्री तथा पोस्टिङ नभएकाले गणना विवरणमा आशङ्का गर्ने ठाउँ नरहेको बताए । 
उनले उम्मेदवारहरूबिच सहमति गरी गणना सुचारु गर्ने प्रयास भइरहेको बताए । मतगणना रोकिँदासम्म कार्कीले २३ हजार ४३९ र एमालेका कुसियैतले २३ हजार ३४१ मत पाएका छन्। कुसियैत भन्दा कार्की ९८ मतले अगाडि रहेको अवस्थामा मतगणना स्थगित गरिएको थियो । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को लगभग ६० मतगणना सम्पन्न भएको छ भने यस क्षेत्रमा जम्मा रहेका १ लाख २८ हजार ८५ जना मतदाता रहेको यस क्षेत्रमा ८१ हजार २ सय ३३ मत खसेको थियो ।