इटहरी : नेपाली काँग्रेस सुनसरीले क्षेत्र नम्बर ४ मा पुनः मतगणना हुनुपर्ने माग दोहोर्‍याएको छ। नेकपा एमालेले डराएर धम्की दिन थालेको र यसअघि ६०६ मत धाँधली भएको प्रमाणित भएको कारण पुनः मतगणना हुनुपर्ने माग राखेको हो ।
नेकपा एमालेले सोमबार दिउँसो इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी मतगणना सुचारु नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो । प्रतिकारमा काँग्रेसले पनि पत्रकार सम्मेलन गरेरै राजा र राणा फ्याकेको काँग्रेसलाई थर्काउने प्रयत्न नगर्न चेतावनी दिएको छ । 
इनरुवामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति केदार भण्डारीले निर्वाचन समितिले गल्ली स्वीकार गरिसक्दा पनि एमालेले बखेडा झिकेको आरोप लगाए ।
"निर्वाचन समिति वा न्यायाधीश आफै निर्वाचनमा बस्ने तर मतगणना अर्कैलाई जिम्मा लगाउने, कर्मचारीमा घुसपैठ गर्ने, गनिसकेको मत परिणाम उलटपुलट पार्ने काम भएको छ । यसको प्रमाण हामीले भेटिसकेका छौ । ६०६ मत गलत भएको निर्वाचन अधिकृतले स्वीकार गरेको अवस्था छ । ६०६ मत सूर्यको बढाएर घोषणा गर्ने कर्मचारी परिचालन गरेर नभएको मतलाई मेरो भनेर भन्दा काँग्रेस मान्दैन । त्यसैले यसअघि पनि यस्तो भएको हुन सक्छ अब पुनः मतगणना हुनुपर्छ," उनले भने । 
काँग्रेसले मतदानमा शङ्का नगरेकोको उल्लेख गर्दै उनले मतगणनामा भएको धाँधलीको प्रतिकार गरेको बताए । नयाँ निष्पक्ष कर्मचारी राखेर पुनः मतगणना गर्न काँग्रेसले आग्रह गरेको छ । काँग्रेसलाई थर्काउने प्रयत्न नगर्न चेतावनी दिँदै उनले कलङ्कित कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । 
नेपाली काँग्रेसको तर्फबाट सञ्चार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की चुनावी मैदानमा छन् । एमालेबाट उम्मेदवार रहेका जगदीश प्रसाद कुसियैत झिनो मतान्तरका साथ कार्कीलाई पछ्याइरहेका छन् । सोही अवस्थामा शनिवार वराहक्षेत्र ८ को परिणाम सुनाउँदा एमालेको पक्षमा ६०६ मत थपिएको थियो । जसलाई निर्वाचन अधिकृतले गल्ती भएको स्वीकार गरेका छन् । सोही विषयलाई लिएर काँग्रेस उम्मेदवार कार्कीले पुन मतगणनाको माग राख्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सुनसरी ४ मा २ दिनदेखि मतगणना रोकिएको छ ।