धरान : १७ औँ ललित अम्बर डिपो कप प्रतियोगिताको तेस्रो स्थानको उपाधिको लागि बिहीबार भएको भिडन्तमा धरान लिगामेन्टले जित निकालेको छ ।
लिगामेन्ट स्कुलले हिमशिखर स्कुल तरहरालाई सडन डेथमा ४-३ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थानको उपाधिमा कब्जा जमाएको हो । निर्धारित समयमा दुवै तर्फ एक/एक गोल मात्र हुन सकेपछि खेल टाइव्रेकमा धकेलिएको थियो । टाइव्रेकरमा समेत बराबर गोल भएपछि सडनडेथको आधारमा जित निश्चित गरिएको थियो ।
विजेतालाई शुक्रवार समापन कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजकले जानकारी दिएको छ । तेस्रो उपाधिको लागि भएको खेलमा हिमशिखर तरहराका आशिष भट्टराई म्यान अफ द म्याच घोषित भए ।  उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
सोही दिन भएको लेट दिलबहादुर प्लेट च्याम्पियनका लागि भएको फाइनल खेलमा एक्वा स्कुलले जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । 
फाइनल खेलमा वराहलाई १-० को जित निकाल्दै एक्वा स्कुलले उपाधि माथि कब्जा जमाएको हो । खेलमा एक्वा स्कुलका ससिम राईले गोल गरेका थिए । प्लेटका विजेता तथा उपविजेतालाई शुक्रवार फाइनल खेल पछि पुरस्कार वितरण गरिनेछ ।  
१७ औ डिपो कपको उपाधिको लागि फाइनलमा पुलिस स्कुल र इष्टर्न एकेडेमी भिड्नेछ ।