धरान : धरान-१४ निवासी सुरेन्द्र घिमिरेले विद्यालयमा अक्षयकोष स्थापना गरी बिद्यार्थीहरु सँग आफ्नो जन्मदिन मनाएका छन् । बिहीबार धरान-१४ स्थित दन्तकाली माविमा आफ्ना स्वर्गीय हजुरबुवा देउनारायण घिमिरेको स्मृतिमा ५० हजार रुपैयाँ बराबरको 'देउनारायण घिमिरे स्मृति अक्षयकोष' स्थापना गरेका छन्। 
घिमिरेले पवित्र बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोष स्वरूप जम्मा गरेको ५० हजार रुपैयाँको रसिद विद्यालयका सहायक प्रधानाध्यापक श्रीप्रसाद कोइरालालाई हस्तान्तरण गरे । आफू पनि शिक्षा क्षेत्रमा आबद्ध भएकाले गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई अध्ययन गर्न अभिप्रेरित गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको घिमिरेले बताए । 
अक्षयकोष बापत जम्मा गरेको रकमको ब्याजले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट हुने एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति  प्रदान गरिने सहायक प्रअ कोइरालाले जानकारी दिए । कार्यक्रममा विद्यालयका शिक्षकहरू बालकृष्ण चौलागाई, कृष्ण तिम्सिना लगायतको उपस्थिति थियो । घिमिरे लामो समय देखी शिक्षा क्षेत्रमा आबद्ध रहेका छन् । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, वीरेन्द्र मेमोरियल कलेज लगायतका शैक्षिक संस्थामा अध्यापनरत घिमिरे इटहरी स्थित सुमेधा एजुकेसन नेटवर्कका सञ्चालक समेत हुन ।
जनता आधारभूत विद्यालयलाई १० हजार सहयोग
यसैगरी बिहीबार नै घिमिरेले धरान-५ स्थित ठिङ्गावारिमा रहेको जनता आधारभूत विद्यालयमा पुगेर निर्माणाधीन अवस्थामा रहेको भवनलाई आर्थिक सहयोग गरेका छन् ।
घिमिरेले विद्यालयकी प्रधानाध्यापक रिता पोख्रेललाई १० हजार रुपैयाँ नगद प्रदान गरे। 'यो विद्यालयको अवस्था नाजुक छ भनेर पहिले सुनेको थिए, आज जन्म दिनमा सहयोग गर्न पाउँदा खुसी लाग्यो' उनले भने । निर्माणाधीन भवनको झ्याल ढोका लगाउन उक्त रकम प्रयोग गरिने विद्यालयकी प्रअ पोख्रेलले जानकारी दिइन।