धरान : नेपालमा नवौँ राष्ट्रिय प्रतियोगितामा प्रदर्शनी खेलका रूपमा रहेको थाइ बक्सिङ (मुवा थाइ) प्रतियोगिता धरानमा पहिलो पटक आयोजना गर्न लागिएको छ । 

राष्ट्रव्यापी प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको स्पर्धामा पुरुषतर्फ ५१, ५४, ५७, ६०, ६७ र ७० केजी र महिलातर्फ ५१ र ५४ केजी तौल समूहका खेलाडीले सहभागिता जनाउने छन् । 

पहिलो पटक परिचयात्मक र प्रवर्द्धनात्मक स्पर्धाका रूपमा आयोजना भएकाले आर्थिक व्यवस्थापन र प्रायोजनको पक्षमा धेरै काम गर्न नसकेको आयोजक तथा सुनसरी जिल्ला मुवा थाई सङ्घका अध्यक्ष एल्कन मगरले बताए । शुक्रवार धरानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराइएको हो । 

'प्रथम धरान राष्ट्रव्यापी मुवा थाई प्रतियोगिता २०७९' नाम दिइएको प्रतियोगिता आगामी मङ्सिर २४ गते शनिवार देखी सुरु हुनेछ । विजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता धरानको भानुचोकमा हुनेछ । 

मुवा थाई थाइल्यान्डको राष्ट्रिय खेल हो । यसलाई थाई बक्सिङका रूपमा पनि चिनिन्छ । 'मार्सल आर्ट' यो खेल नेपालमा संस्थागत रूपमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको छ । सुनसरीमा ०७८ सालमा सुनसरी जिल्ला मुवा थाई सङ्घ गठन भएको थियो ।