धरान : १७ औँ ललित अम्बर डिपो कप प्रतियोगिताको उपाधि पुलिस स्कुलले चुमेको छ ।
शुक्रवार भएको फाइनल खेलमा पुलिस स्कुलले इष्टर्न एकेडेमीलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । उपाधिका लागि दुवै गोल पुलिसका दिव्याङ्गसु विकले गरेका थिए ।
विजेता पुलिस स्कुलले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता इष्टर्नले नगद ५ हजार, तेस्रो उपाधि विजेताले नगद ३ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसैगरी फाइनल खेलको म्यान अफ द म्याच इष्टर्न स्कुलका आयुष चाम्लिङ घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिस स्कुलका यारिन भुजेल, उच्च गोलकर्ता दिव्याङ्गसु विक, वेस्ट डिफेन्स इष्टर्नका अविनाश राउत र उत्कृष्ट गोलकिपर पुलिसका आदित्य राई घोषित भए । उनीहरूले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
उनीहरूलाई समापन कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बर बहादुर लिम्बु, विशेष अतिथि लेफ्टिनेन्ट भिमराज लिम्बु, प्रतियोगिता संयोजक एएसपि वीरेन्द्रविक्रम लिम्बु, पत्रकार एवम् नेकपा एमालेका नेता भिमज्वाला राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
लेट दिलबहादुर प्लेट च्याम्पियनका विजेता एक्वा स्कुल र उपविजेता वराह राइजिङ्ग स्कुलका खेलाडीहरूलाई पनि समापन कार्यक्रमकै दिन पुरस्कार वितरण गरिएको थियो । प्लेट च्याम्पियनको विजेता एक्वा स्कुलले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । यसै गरी उपविजेता वराह राइजिङ्गले नगद २ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।
समापन कार्यक्रममा धरान उपमहानगरका प्रमुख मेयर हर्कराज राई प्रमुख अतिथिको रूपमा निम्त्याइएका थिए ।
police-champion-2