धरान : हिसान स्पोर्टस मिट २०७९ अन्तर्गत यही मङ्सिर २२ गते देखि हिसान महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ।
प्लस टु विद्यालयको शैक्षिक संस्था हिसान सुनसरीको आयोजनामा हरेक वर्ष हुने स्पोर्टस मिट अन्तर्गत बास्केटबल प्रतियोगिता हुन लागेको हो । बास्केटबल प्रतियोगितामा सुनसरी भरिका प्लस टु विद्यालयका महिला र पुरुष टिमले सहभागिता जनाउने हिसान सुनसरीले जानकारी दिएको छ । पुरुष तर्फ १० र महिला तर्फ ८ टिमले सहभागिता जनाउने हिसान बास्केटबलका संयोजक अर्जुन घिमिरेले जानकारी गराएका छन् ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरू ०७८ र ०७९ सालको एसइई ब्याचको हुन पर्नेछ । प्रतियोगिता धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा हुने संयोजक घिमिरेले जानकारी गराए ।  
प्रतियोगितामा हिसान स्पोर्टस मिट अन्तर्गत ११ विद्यामा विभिन्न प्रतियोगितात्मक कार्यकम हुदैछ । मिट अन्तर्गत चेस र वक्तृत्वकला सकिएको छ भने बास्केटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, फुटबल, नृत्य, क्विज कन्टेस्ट र कविता वाचन प्रतियोगिता हुन बाँकी छन् ।