• रश्मि प्रधान
धरान : पारपाचुके भइसकेकी आफ्नै श्रीमतीले लगाएको बलात्कारको मुद्दामा अदालतले सफाइ दिएपछि धरान-१५ का भोजराज थापाले सम्पत्ति हडप्नका लागि आफूलाई बलात्कारको मुद्दा लगाएको बताएका छन् । उनलाई पूर्व श्रीमती माया विष्टद्वारा बलात्कार मुद्दा लगाएको थियो । 
उक्त मुद्दामा सुनसरी जिल्ला अदालतले २०७९ कात्तिक १८ गते फैसला सुनाउँदै आफूलाई सफाइ दिएको थापाले आइतबार पत्रकार सम्मेलन आयोजना गरी बताएका हुन । यसअघि जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश विरुद्ध उनी उच्च अदालत गएका थिए । उच्च अदालतले थापाले जर्बजस्ती करणी गरेको विश्वास गर्न सकिने मनासिब आधार नदेखिएको ठहर गर्दै जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश २०७८ माघ २० गते बदर गरिदिएको थियो । उच्च अदालतको आदेश अनुसार ३ महिना पछि उनी थुनामुक्त भएका हुन ।
पारपाचुके हुँदाको अंश मुद्दामा अदालतले आफ्नो भागमा छुट्याएको घर भने अहिले बलात्कारको मुद्दामा सफाइ पाउँदा सम्म पूर्व श्रीमतीले नछोडेको हुँदा आफू सडकमा बास बस्नुपर्ने अवस्थामा पुगेको थापाको भनाई छ । त्यति मात्र नभएर २०७४ साल मङ्सिरमा सामाजिक परम्परा अनुसार विवाह गरेर गएकी छोरी अनुसा थापामगरले अहिले अविवाहित छु भन्दै अंश चलन मुद्दा हालेको बताए । यसबाट आफूमाथि मुद्दाहरू सम्पत्ति कब्जा गर्ने लोभले लगाइएको स्पष्ट भएको थापाको भनाई छ । 
बलात्कार मुद्दामा थापालाई सुनसरी जिल्ला अदालतले २०७८ मङ्सिर ७ गते पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत विराटनगरको आदेशमा पीडितको परीक्षण प्रतिवेदन समेतबाट पनि प्रतिवादी थापाले अभियोग दाबी बमोजिम जर्बजस्ती करणी गरेको विश्वास गर्न नसकिने मनासिब आधार नदेखिएको उल्लेख छ । 
उच्च अदालतको आदेश पछि थुनामुक्त भएका थापाले आइतबार धरान-१३ स्थित नेपाल पत्रकार महासङ्घ सुनसरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सम्पत्तिको लोभमा आफ्नी पुर्वश्रीमतिले योजनाबद्ध रूपमा फसाएको बताए । उनले अदालतबाट अंशबन्डा भएको र धरान-१५ स्थित घर छोड्नुपर्ने भएपछि आफ्नी पुर्वश्रीमतिले जर्बजस्ती बलात्कार गरेको भन्ने आरोप लगाएर फसाएको बताए । 
थापाका अनुसार पुर्वपत्नीले आफूलाई कुटपिट गर्ने र उनको काका पर्ने विराटनगरका पत्रकारले गालीगलौज गरिरहने गरेपछि असोज २१ गते पुर्वपत्नी विरुद्ध घरेलु हिंसा मुद्दा दर्ता गरेका थिए । श्रीमतीसँग सम्बन्ध विच्छेद र अंश मुद्दामा २०७८ असोज २० गते मिलापत्र भएको थियो । 
मिलापत्र अनुसार धरान-१५ मा १ कट्ठा १ धुर जग्गा र त्यसमा बनेको घर बैङ्कको ऋण चुक्ता गरी अंश थापाले पाउने सहमति भएको थियो । मिलापत्र अनुसार मङ्सिर १५ गते पुर्वपत्नीले घर छोडी दिने सहमति पनि भएको भए पनि हाल सम्म अदालतले सफाइ दिँदा समेत घर नछोडेको उनले बताए । घर छाड्ने सहमति भएको १९ औँ दिनमा पुर्वपत्नीले थापा विरुद्ध बलात्कारको मुद्दा लगाएकी थिइन् । उनी पक्राउ परी साढे ३ महिना पुर्पक्षका लागि थुनामा बस्नु परेको हो ।
थापाका अनुसार पुर्वपत्नीलाई भेडेटारमा भएको घर घडेरी, वराहक्षेत्रमा भएको १ कट्ठा घडेरी, खाना खानको लागि वराहक्षेत्र चक्रघट्टीको १३ कट्ठा खेती पनि अंशमा दिएको छ । यस्तै, छोरा छोरी सबैलाई नै आफूले अंश दिएको तर धरान-१५ को घर, खेतीका लोभमा आफूलाई झुटो मुद्दामा फसाएर अन्याय गरेको उनले बताए । 
थापाका अनुसार कार्तिक ९ गते उनी आफ्नो नाबालक छोराको नाममा चक्रघट्टी स्थित ११ कट्ठा जग्गा पास गर्नुपर्ने भएकोले जन्म दर्ता लिन धरान-१५ को घर गएका थिए । उनी नाबालक छोराको संरक्षक हुन । जन्म दर्ता लिन घरमा पुगेपछि छोरालाई बोलाएको तर छोरा स्कुल गएको कारण पुर्वपत्नी को हो भन्दै हेर्न आएकी थिइन । पुर्वपत्नीले नै माथि नै आउनु भनेपछि आफू सिँढीको चेनगेटमा उभिएको बेला पुर्वपत्नी, उनकी बहिनी, छोरा, छोरीले जर्बजस्ती तानेर लडाएको र आफ्नो हातमा भएको सुनको ब्रासलेट, आइफोन लगायत खासेको पनि उनले बताए । 
गुहार गुहार भन्दै चिच्याउँदा छिमेकी अमर तामाङ र मुरारी सुवेदी आएर छुट्याएको थापाले बताए । तामाङ र सुवेदीले अदालतमा घट्नाको प्रत्यक्षदर्शीको बयान दिएपछि आफू उच्च अदालतबाट छुटेको थापाको भनाई छ ।