धरान : उपाधिको बलियो दाबेदार पूर्व विश्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै मोरक्को कतारमा जारी फिफा विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ।
स्पेनलाई टाइब्रेकरमा ३-० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलो पटक क्वाटर फाइनलमा पुग्न सफल भएको हो।
निर्धारित र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । त्यसमा मोरक्कोले बाजी मार्‍यो।
दोहाको एजुकेसन सिटी रङ्गशालामा ४४ हजार फुटबल समर्थकमाझ स्पेनले ७३ प्रतिशतभन्दा बढी बल पोसेसन राख्दै मोरक्कोलाई दबाबमा राखे पनि गोल गर्न नसक्दा स्तब्ध बन्न पुग्यो।
पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गर्दा बाडर बनाउनेको प्रहार भने स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए।
स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो । त्यसपछि कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई यासिन बोनोले बचाउँदै टोलीलाई अन्तिम आठको यात्रा तय गराए। 
अब मोरक्कोले क्वाटर फाइनलमा पोर्चुगलसँग खेल्नेछ ।
यस जितसँगै मोरक्को विश्वकपको इतिहासमा पहिलो पटक क्वाटर फाइनलमा पुगेको छ। मोरक्को यसअघि १९८६ मा  अन्तिम १६ मा पुगेको थियो। त्यो नै मोरक्कोको विश्वकपमा उत्कृष्ट नतिजा थियो।
यता, २०१० को च्याम्पियन स्पेन लगातार दोस्रो पटक अन्तिम १६ बाटै बाहिरियो। सन् २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ मा रसियासँग टाइब्रेकरमा पराजित भएर बाहिरिएको थियो।
moroco-winner