विराटनगर : विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । 
अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको हो । नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याक लगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभाबी झुन्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो । 
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियान अन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको प्रस्ट पारे । 
“परिवर्तन गर्न आफैँबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरितार्थ गर्दै मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेका छौँ,” उनले भने, “विराटनगर अब यथास्थितिमा बस्न सक्दैन, विराटनगर प्रदेशको राजधानी पनि हो । यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो लक्ष्य छ । विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दछु ।” 
महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । सार्वजनिक सूचना जारी र पटक-पटक माइकिङ गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताए । अभियानअन्तर्गत मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालय अगाडि रहेका पसल, वडा नम्बर ९ को कार्यालय, बुधहाट चोकस्थित बि प्लटमा अवस्थित पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ । अभियानलाई हरेक दिन सञ्चालन गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।  
अवैध संरचना हटाउने अभियान महानगरका १९ वटै वटामा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । मेयर कोइरालाले जभाभावी फोहोर गर्ने र बजारको सौन्दर्यकरणमा ह्रास आउने काम गर्नेलाई तत्काल कारबाही गर्ने अधिकार सफाइ शाखाका प्रमुख पुनम दाहाल र नगर प्रहरीका प्रमुख राजन पौडेललाई अधिकार दिइसकेका छन् ।