धरान : हिसान सुनसरीद्वारा आयोजित हिसान बास्केटबल प्रतियोगिताको पहिलो दिनको खेलमा धरान मेघा हिमालयन, धरान आदर्श र लोटस स्कुल विजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन् ।
क्वाटर फाइनलमा धरान मेघाले धरान उच्च माविलाई ६८-१८, धरान आदर्शले पूर्वाञ्चल स्कुल तरहरालाई ६५-१२ र लोटसले विश्वआर्दश इटहरीलाई ३९-११ अङ्कको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । 
हिसान स्पोर्टस मिट अन्तर्गत बिहीबार देखि सुरु भएको हिसान बास्केटबलको पहिलो खेलमा धरान आदर्शले जेनिथ होलिल्याड स्कुललाई र दोस्रो खेलमा धरान मेघाले धरान उच्चलाई र तेस्रो खेलमा विश्व आदर्शले सुस्मा गोदावरी इटहरीलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका थिए । वाइ पाएर सिधै क्वाटर फाइनल प्रवेश पाएको सियोन स्कुलले वाकओभर दिए पछि धरान मेघाले सोझै सेमिफाइनलमा प्रवेश पाएको छ।
धरान मेघाले लोटस र धरान आदर्शले शुक्रवार एम्स एकेडेमी र विष्णु मेमोरियल बिच हुने खेलको विजेता सँग सेमिफाइनलमा  भिड्ने छ । उद्घाटन दिनको खेलको म्यान अफ द म्याच धरान आदर्शका पारुहाङ्ग राई, धरान मेघाका योगेश राई, विश्व आदर्श इटहरीका सौजन बस्नेत, धरान आदर्शका सरीन मगर र लोटस स्कुलका नितेश क्षेत्री घोषित भए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी र हिसान बास्केटबल संयोजक अर्जुन घिमिरेले मेडल प्रदान गरेका थिए। उद्घाटन कार्यक्रममा धरान १७ न. वडाध्यक्ष मनोज भट्टराई, धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बु, हिसान सुनसरि अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट मुल संयोजक हेमन्त भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सुवेदीले द्विप प्रज्वलन गरेर गरेका थिए ।
प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमको सहभागिता रहेको मुल संयोजक हेमन्त भण्डारीले जानकारी दिए। सहभागी विद्यालयहरूमा धरान मेघा हिमालयन महिला पुरुष टिम, लोटस, एम्स एकेडेमी, सियोन स्कुल महिला पुरुष टिम, विष्णु मेमोरियल महिला पुरुष, जेनिथ महिला पुरुष, धरान आदर्श महिला पुरुष, धरान उच्च महिला पुरुष, विश्व आदर्श इटहरी, सुष्मा मावि इटहरी, पूर्वाञ्चल मावि तरहराले सहभागिता जनाएका छन् । प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा हुनेछ ।