विराटनगर : विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरूले पनि साथ दिएका छन् ।
पसल अगाडि नियम विपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैँले भत्काउन  थालेका छन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधवारबाट नियम विपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको थियो । 
महानगरले मेयर नागेश कोइरालाको घरमा भाडामा सटर लिएका व्यापारीहरूले नियम विपरीत बनाएका संरचना हटाएर अभियानको सुरुवात गरिएको थियो । महानगरले बजार क्षेत्रभित्र सौन्दर्यीकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । 
मेनरोडका व्यापारीहरूले आफ्नो पसल अगाडि नियम विपरीत निर्माण गरेका संरचना धमाधम हटाइरहेका छन् । विराटनगरलाई यथास्थितिमा राख्न नसक्ने भन्ने मेयरको अभिव्यक्तिबाट आफूहरू उत्साहित भएको व्यापारी सन्तोष साहले प्रतिक्रिया दिए । "विराटनगर बनाउने अभियानमा हामी बाधक बन्दैनौँ,” उनले भने, “महानगरले पनि सडकको पेटीहरूलाई व्यवस्थित बनाइदिनुपर्छ ।"
उनले महानगरले परिवर्तनको छनक दिएकोमा खुसी व्यक्त गरे । मेनरोडका व्यापारीहरूले आफैँ पसलमाथि निर्माण गरेका सेटब्याक, होर्डिङ बोर्ड, साइनबोर्ड हटाइरहेका छन् । मेनरोडमा मात्रै नभएर महानगरभरि नै अभियान सञ्चालन गर्न अर्का व्यापारी सञ्जय कुमार सिंह मण्डलले प्रतिक्रिया दिए । खुद्रा व्यापार सङ्घका अध्यक्षसमेत रहेका मण्डलले भन्सारमा कडा गर्नुपर्नेमा जोड दिए । “विराटनगर महानगरले अत्यन्तै राम्रो कामको सुरुवात गरेको छ,” उनले भने, “यो अभियान महानगरभरि सञ्चालन होस् ।” 
महानगरले बिहीबार पनि अवैध संरचना हटाउने अभियान सञ्चालन गरेको छ । अस्पताल चोक आसपासको क्षेत्रमा निर्माण गरिएका संरचना हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । “नियम विपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैँले स्वतःस्फूर्त हटाइरहनु भएको छ,” पौडेलले भने ।
मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित महानगर बनाउने सन्दर्भमा कसैसित पनि सम्झौता नहुने बताइसकेका छन् । मेयर कोइरालाले जस्तोसुकै दबाब आए पनि नियम विपरीत बनाइएका संरचना हटाउन नगर प्रहरीलाई निर्देशन समेत दिइसकेका छन् ।