धरान : नेपालकै पुरानो एवम् संस्कृत शिक्षाको केन्द्रका रूपमा रहेको पिण्डेश्वर विद्यापीठको ७१ औँ वार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न गतिविधि गर्दै  यही मङ्सिर २७ गते भव्यताका साथ सम्पन्न भएको छ ।
पिण्डेश्वर विद्यापीठको सभाकक्षमा वार्षिकोत्सव समापन समारोह आयोजना गरिएको थियो । कार्यक्रमको सभापतित्व विद्यापीठका प्राचार्य काशीनाथ पौडेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष सहप्राध्यापक वयोवृद्ध विद्वान् पुरुषोत्तम भट्टराईको उपस्थिति रहेको थियो । 
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पिण्डेश्वर विद्यापीठ विकास समितिका अध्यक्ष गोविन्द तिम्सिना, भाषाविद् प्रा.डा.टङ्कप्रसाद न्यौपाने रहेका थिए भने अतिथिको रूपमा ने.सं.वि. कर्मचारी सङ्घका केन्द्रीय उपाध्यक्ष भेषबहादुर निरौला, ने.सं.वि. प्राध्यापक सङ्घका केन्द्रीय सचिव सहप्राध्यापक डा.भवानीशङ्कर भट्टराई, पूर्वप्राचार्यहरू प्रा.डा.चन्द्रमणि नेपाल र सह प्रा.डा.रमेश घिमिरे, विद्यापीठमा विभिन्न पुरस्कार स्थापना गर्ने दाता तथा परिवारका सदस्यहरूमा श्रीमती निलम भट्टराई, श्रीमती कमला भट्टराई र श्रीमती सरिता दाहाल लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । 
कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईले पानसमा बत्ती बाली एवं भगवती सरस्वतीदेवी र संस्थापक प्राचार्य छविलाल पोखरेलज्यूको चित्रपटमा माल्यार्पण गरी गरेका थिए । सो अवसरमा विद्यार्थीहरूले वैदिक मन्त्रोच्चारणसहित स्वस्तिवाचन गरेका थिए । राष्ट्रिय गानका साथ आरम्भ भएको सभामा विद्यापीठका कर्मचारी भेषबहादुर निरौलाले स्वागत मन्तव्य राखेका थिए । विद्यापीठको सेवामा संलग्न रही हालै अवकाश प्राप्त गरेका प्रा.डा. चन्द्रमणि नेपाल, प्रा.डा भरतप्रसाद भट्टराई र कर्मचारी डम्बरबहादुर तामाङलाई सम्मानका साथ बिदाइ समेत गरिएको थियो । 
कार्यक्रममा सहप्राध्यापक टेकनाथ घिमिरेलाई सम्मान गरिएको साथै अवकाशप्राप्त प्राध्यापकहरू  सम्मान पत्र प्रदान गरिएको थियो । 
वार्षिकोत्सवको अवसरमा अनेरास्ववियू पिण्डेश्वर क्याम्पस कमिटीका अध्यक्ष पवन अधिकारी, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष प्रवेश पौडेल तथा अखिल क्रान्तिकारीका अध्यक्ष कौशल दाहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बिदाइ मन्तव्य व्यक्त गर्दै विद्यापीठका पूर्व प्राचार्य प्रा.डा. चन्द्रमणि नेपालले प्राध्यापन गर्दा ताकाका आफ्ना अनुभव सुनाउँदै गर्दै आफूलाई शिक्षा प्रदान गरेको र आफूले शिक्षण गरेको पिण्डेश्वर विद्यापीठका संस्थापक छविलाल पोख्रेललगायतका गुरुहरूको विद्यापीठको भौतिक र शैक्षिक विकासमा प्रेरक योगदान रहेको बताए । 
विशिष्ट अतिथिको रूपमा मन्तव्य व्यक्त गर्दै भाषाविद् प्रा.डा.टङ्कप्रसाद न्यौपानेले विश्वविद्यालयमा सरासर गुरुले सिकाएको सिकेर मात्र नभएर प्रश्नोत्तरात्मक शैलीमा अनुसन्धानमूलक रूपमा अध्ययन अध्यापन गर्न आवश्यक रहेको औँल्याए । 
वार्षिकोत्सवको अवसरमा वर्षभरिका शैक्षिक गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई विभिन्न दाता महानुभावहरूबाट स्थापित नगद पुरस्कारहरू प्रदान गरिएको थियो । 
वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित साहित्यिक र खेलकुदतर्फ उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि प्रमुख अतिथिका हातबाट पुरस्कार वितरण गरिएको थियो । यसै क्रममा विद्यापीठद्वारा प्रदान गरिने पिण्डेश्वर श्री पुरस्कार छात्र घनश्याम भण्डारीलाई प्रदान गरिएको थियो ।
प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्दै पुरुषोत्तम भट्टराईले विद्यार्थीले आफ्नो भविष्य उज्ज्वल हुने शैक्षिक उन्नयनमा लाग्न सुझाव दिई शिक्षाले निस्वार्थ सेवाका लागि प्रेरणा प्रदान गर्ने बताउँदै  विद्यापीठको हितमा केन्द्रित रहन जोड दिए । 
विद्यापीठमा एक वर्षभित्र भएका भौतिक र शैक्षिक प्रगति विवरण समेटेर विद्यापीठका प्राचार्य तथा कार्यक्रमका सभापति काशीनाथ पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन उपप्रा.डा महानन्द तिमिल्सिनाले र पुरस्कार वितरण कार्यक्रमको सञ्चालन उपप्रा.सुमन खतिवडाबाट भएको थियो । 
pindeshwar-campus-71th-anni