सुनसरी : अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटी सचिव सन्तोष तिम्सिनालाई बाटो छेकेर आक्रमण गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी २० बस्ने २१ वर्षीय रुपेश पुरी छन् । घटनामा संलग्न सोही वडाका २० वर्षीय दिपेन दास, घटनाका योजनाकार सहित चार जना फरार रहेका छन् ।

तरहरामा गत सोमबार अपराह्न चार बजे आफ्नो दैनिक कार्य सकेर घर फर्किँदै गरेका तिम्सिनालाई ४ जनाको समूहले आक्रमण गरेको थियो । आक्रमणबाट तिम्सिनाका अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घटना लगत्तै उनले प्रहरीलाई किटानी जाहेरी दिएका थिए । सोही आधारमा पुरीलाई पक्राउ गरेको हो । अन्य फरार रहेका व्यक्तिहरूको पहिचान गरी पक्राउ गरिने इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । उनले खोजी कार्य तीव्र बनाएको बताए ।

घटनामा प्रत्यक्ष संलग्न नभए पनि मुख्य योजनाकार इटहरी २० का सुशान्त पुरी रहेको उनले  आरोप लगाएको छन् । पुरी पनि अहिले फरार छन् । पीडित पक्षले क्याम्पसको विषयलाई जोडेर रिसिइबि साँधेर आक्रमण भएको बताएको छ । पीडित तिम्सिनाले आफूमाथि भएको अन्यायबारे सत्य तथ्य पत्ता लगाई कडा कारबाही गर्न प्रहरी समक्ष आग्रह गरेका छन् ।

यता घटनाको विषयमा क्याम्पसमा रहेका छ विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लगायतले दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको हो । हिजो (बुधवार) प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी सङ्गठनहरूले तत्काल पक्राउ नगरे सडक आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

विगत ३ महिना देखि क्याम्पसमा आन्दोलन जारी छ । कर्मचारी नियुक्तिमा सेटिङ गरेको भन्दै अनेरास्ववियु लगायत अन्य ६ विद्यार्थी सङ्गठनले क्याम्पसमा आन्दोलन गर्दै आएका छन् ।

कर्मचारी नियुक्तिको विधिको विरोध गर्दै नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत छ पार्टी निकट विद्यार्थी सङ्गठनले आन्दोलन गर्दै आएका छन् । उनीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला समेत लगाएका थिए । छ सङ्गठनले लगाएको ताला केही दिन अघि नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले फोडेको थियो । सोही घटनामा विद्यार्थी सङ्गठन बिच एक अर्कामा द्वन्द्वको सिर्जना भएको छ । जसका कारण क्याम्पसको दैनिक प्रशासन देखि पठनपाठनमा समेत प्रत्यक्ष असर परेको छ ।