इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसमा ६ विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् । इटहरीको एक मात्र सामुदायिक क्याम्पसमा कर्मचारी नियुक्त प्रक्रियामा चलखेल भएको भन्दै विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका हुन् ।

तालाबन्दी पछि विद्यार्थी सङ्गठनले एक विज्ञप्ति नै जारी गरेर विरोध जनाएका छन् । जेठ २९ गते बिना सूचना एकै दिन लिखित तथा मौखिक परीक्षा सञ्चालन गर्नुले सञ्चालक समिति र क्याम्पस प्रशासनको बदनियत पर्दाफास भएको विज्ञप्तिमा उल्लेख छ । क्याम्पस सञ्चालक समिति र प्रशासनले एकलौटी ढङ्गले पेल्न खोजेको विद्यार्थी सङ्गठनहरूको आरोप छ ।

आफूहरूले विरोध गरेपछि देखिएका घटनाक्रमले आन्दोलनको औचित्य पुष्टि भएको नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष उज्ज्वल सिग्देलले बताए । क्याम्पसले कुनै पनि सूचना प्रकाशित नगरी लिखित तथा मौखिक परीक्षा सञ्चालन गरेको उनको भनाई छ ।

परीक्षाको लागि बोलाइएका विज्ञहरू सरकारी कर्मचारी नभई राजनैतिक दलसँग जोडिएका व्यक्ती भएकाले प्रक्रिया नै गलत भएको विद्यार्थी सङ्गठनहरूको ठहर छ । नियुत्ती प्रक्रिया बदर नभएसम्म क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला नखोल्ने उनीहरूको अडान छ । आफूहरूको मागको सुनुवाइ नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

लिखित सूचना प्रकाशित नभएपछि मौखिक परीक्षामा सामेल हुन नपाएको परीक्षार्थी शङ्कर अधिकारीले बताए । लिखितमा नाम निस्किएका अधिकारी मौखिक परीक्षाको समय सकिन लाग्दा फोन आएको बताउँछन् । ४ बजे देखी सुरु भएको मौखिक परीक्षाको सूचना आफूले ५ बजे मात्र पाएको र आफू दमकमा भएको आउन नसकेको उनले प्रस्ट पारे ।

उता क्याम्पस प्रमुख गीता अधिकारीले विद्यार्थीको मुद्दामा सकारात्मक हुँदाहुँदै तालाबन्दी गरिनु दु:खद भएको बताउँछिन् । व्यवस्थापन समितिको छलफल राखेर समस्या समाधान गर्न आफू तयार रहेको उनको भनाई छ । दुई दिनसम्म आन्दोलन रोक्न भन्दा पनि नमानेपछि यो अवस्था आएको अधिकारी प्रस्ट पार्छिन् ।

सञ्चालक समितिका अध्यक्ष रेवतीरमण भण्डारीले भने आफूलाई यसबारे थाहा नभएको बताए । पदपूर्ति समितिले गरेको निर्णयबारे आफू बेखबर रहेको उनको भनाई छ ।

itahari-talabandi-letter