इटहरी : नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलको नेतामा  ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेश १ को संसदीय दलको नेतामा केदार कार्की, उद्धव थापा र अमृत अर्यालले उम्मेदवारी दिएका हुन् । दलको नेतामा आकाङ्क्षा राखेका भीम पराजुलीले थापालाई समर्थन गरेका हुन् । प्रदेश सभापति समेत रहेका थापा र पराजुली कृष्ण प्रसाद सिटौला पक्षका नेता हुन ।

थापाको प्रस्तावका पराजुली र समर्थकमा भूपेन्द्र राई रहेका छन् । संस्थापन शेरबहादुर देउवाका अर्याल काँग्रेस केन्द्रीय सदस्य हुन । उनलाई डोल्मा तामाङले प्रस्ताव गरेकी छिन भने समर्थकमा सुनिता कुमारी गुरुङ रहेकी छिन् ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्की डाक्टर शेखर कोइराला समूहका हुन । उनको प्रस्तावक रामकुमार खत्री र समर्थक शमशेर राई छन् । प्रदेश अधिवेशन र १४ औँ महाधिवेशनमा सिटौला र देउवा पक्षको एकता देखिए पनि प्रदेश संसदीय दलमा छुट्टाछुट्टै उम्मेदवारी दिएका हुन् ।

सहमतिको अन्तिम प्रयास भए पनि अहिलेसम्म परिणाम निस्किन सकेको छैन । काङ्ग्रेस प्रदेश १ मा २९ जना सदस्यले शुक्रवार बिहान ९ बजे मतदान गर्न पाउने भएका छन् ।