धरान : योङ्ग प्रोफेसनल फर एग्रीकल्चरल डिभेलपमेन्ट नेपालको आयोजना तथा नेपाल कृषि इन्जिनियरिङ विद्यार्थी समाजको सह-आयोजनामा कृषि कर्जा र अनुदान विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

हिजो पौष १३ गते धरान-८ स्थित इ.अ.स. पूर्वाञ्चल क्याम्पसमा आयोजित कार्यक्रमको सहजीकरण सिटिजन्स बैङ्क, धरानका शाखा प्रबन्धक तोर्ण बहादुर कार्कीले गरेका थिए । किसान तथा कृषि कर्ममा लाग्न इच्छुक युवाहरूले सहज तरिकाबाट सरकारी अनुदान र बैङ्क कर्जा कसरी उपभोग गर्न सक्छन् भन्ने बारेमा छलफल कार्यक्रम केन्द्रित थियो ।
विभिन्न विषयमा इन्जिनियरिङ अध्ययनरत ९० विद्यार्थी कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमका सहभागीले मुख्य रूपमा कृषि स्टार्टअप, बिना धितो ऋण र कृषि पेसाको व्यवसायीकरण सम्बन्धी जिज्ञासाहरू राखेका थिए ।
राजश्री उपाध्यायको संयोजकत्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कृषि इन्जिनियरिङ विभागका प्रमुख सह-प्राध्यापक जावेद आलम रहेका थिए । कार्यक्रमको अतिथिमा विभागका प्रध्यापकहरु याम कुमार राई, सुमन थापा, तीर्थ कार्की, अदित्य रोशन ढकाल र सागर काफ्ले रहेका थिए ।