सुनसरी : प्रदेश १ का १४ जिल्लामा कृषि आधुनिकीकरणको प्रयोग गर्न नसिकाउँदा सरकारको लगानी बालुवामा पानी हाले सरह भएको कृषि सरोकारवालाका निकायहरूले चिन्ता व्यक्त गरेका छन् ।
सुनसरीको तरहरामा रहेको कृषि अनुसन्धान निर्देशनालयमा प्रदेश १ का १४ ओटै जिल्लाका कृषि, भेटेरिनरी विज्ञ, किसान तथा सरकारी पक्षबिच भएको प्रादेशिक कृषि प्राविधिक कार्य बैठकमा उनीहरूले प्रयोग र उपयोगिताबारे सरकारी पक्षबाटै सिकाउन नसक्दा उत्पादन बढ्ने भन्दा पनि घट्ने चिन्ता थपिएको बताएका हुन् ।
सरकारले मेसेनरी कृषि औजार, पोली हाउस, ग्रिन हाउस नेट र हाउस हाइटेकमा बर्सेनि लगानी गरे पनि भूगोलको आधारमा हिमाल, पहाड, तराईमा कस्तो कृषि सामग्री प्रयोग गर्ने भन्ने सरकारी पक्षले समयमै जानकारी दिन नसक्दा किसानले सास्ती खेपिरहेको उनीहरूको भनाई छ । कृषि विकास निर्देशनालय प्रदेश १ निर्देशक प्रकाश कुमार डाँगीले किसानलाई प्राविधिक औजार दिएर मात्रै नहुने भन्दै उक्त सामग्री बिग्रिएमा दक्ष जनशक्ति पनि हुनु पर्ने बताए ।
उनले तराईका सुनसरी, मोरङ, झापामा प्रयोग हुने मेसिन पहाडी जिल्लामा हुने वा नहुने सुरुमा परीक्षण गरेर मात्रै दिनु पर्ने तर्क राखे । उनले सोलु र ताप्लेजुङमा प्रयोग हुने मेसेनरी औजार तराई तिर प्रयोग गर्न कतिको उपयोग हुन्छ परीक्षण गरेर मात्रै प्रयोगमा ल्याउनाले किसानले सोचे जस्तो कृषिमा केही फड्को मार्न सकिने धारणा राखे ।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रदेश १ प्रमुख मनोज यादवले पोली हाउस, ग्रिन हाउस नेट र हाउस हाइटेकमा पनि किसान अनविज्ञ रहेको बताए । उनले तराईका कुन समयमा यसको प्रयोग गर्ने, पहाडमा कुन समयमा गर्ने कस्तो तरकारी खेतीमा प्रयोग गर्ने भन्ने कुनै पनि परीक्षण सरकारी पक्षबाट हुन नसकेको बताए । उनले यसको प्रयोगले उत्पादन घट्ने हो कि बढ्ने हो कुनै ठोस आधार बिनै किसानले प्रयोग गर्नाले उपयोगिता माथि नै प्रश्न उठेको तर्क गरे ।
सहभागीहरूले सरकारी पक्षले किसानलाई अनुदान तथा कृषि योग्य सामग्री वितरण गरे पनि वास्तविक किसानले भन्दा पनि राजनीतिक दलका नेताका आफन्त पाउने गरेको समेत गुनासो गरे ।