• रश्मि प्रधान 

भेडेटार : ईस्वी सम्बतको नयाँ वर्ष २०२३ मनाउन भेडेटार फुड फेस्टिभलमा भारतीय सहित आन्तरिक पर्यटकहरू आउन थालेका छन् । फेस्टिभल सन् २०२२ को अन्तिम दिन शनिवार देखी सुरु भएको हो । उद्घाटनका अवसरमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गर्न सिंगापुरबाट आएका नागरिकहरू पनि थिए ।

विशेष गरी अङ्ग्रेजी इस्वी सम्बतको नयाँ वर्ष मनाउन बर्सेनि भेडेटारमा आयोजना हुने फुड फेस्टिभलमा भारतीय पर्यटकहरूको ओइरो लाग्ने गरेको छ । आज सन् २०२३ पहिलो दिन जनवरी १ तारिख भएकोले आज र भोलि भेडेटारमा भारतीयहरू सहित आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ ।

आयोजक भेडेटार होटेल एसोसिएसनका अध्यक्ष तथा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार फुड फेस्टिभलमा २५ हजार भन्दा बढी आउने अनुमान गरिएको बताएका छन् । फेस्टिभलको उद्घाटन प्रमुख अतिथि प्रदेश सभाका सांसद निरन राईले गरेका थिए । 

उनले भेडेटार लगायतका क्षेत्र चुरे तथा पर्यटर्कीय क्षेत्रहरूमा सरकारले लगानी गर्ने वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै सिएनएन सर्वेक्षण अनुसार विश्वको घुम्नै पर्ने १२ औ गन्तव्य रहेकोले  भेडेटारलाई स्वदेशी तथा विदेशी पर्यटकहरू आउने बनाउन स्पोर्ट टुरिजमको विकास गर्न लगानी चाहिएकोमा फेस्टिभलले ध्यानाकर्षण गराउने उल्लेख गरे । 

समारोहमा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई एवं राजनीतिक दलहरूका नेतृत्वहरूको उपस्थिति थियो । फेस्टिभललाई ग्रामीण कृषि पर्यटनसँग जोड्न साँगुरीगढी र चौबिसे गाउँपालिकाको यसपाली पूर्णरुपमा जुटको छ । सागुरीगढीका उपाध्यक्ष मुना राई, चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको उद्घाटन समारोहमा सहभागी थिए ।

उक्त अवसरमा धनकुटा क्षेत्रका आदिवासी बहुजातिय समुदायको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । लिम्बू जातिको च्याब्रुङ, राईको साकेला, मगरको हुर्रा, नेवारको धिमे बाजा, याम्फुको केलाङ नृत्यले उद्घाटन समारोहको रौनक बढाएको थियो ।

फेस्टिभलमा आगन्तुकहरू लाई परम्परागत अर्ग्यानिक र जातीय परिकारमा आकर्षण गर्न स्टल र रेस्टुराँहरूमा मौलिक परिकारहरू पाइने व्यवस्था गरिएको छ। साँगुरीगढी क्षेत्रको कृषि तथा घरेलु उत्पादन बजारीकरण गर्न फेस्टिभलमा आउने पर्यटकहरूलाई वस्तुहरूको किनबेच गर्ने स्टलहरू पनि राखिएका छन् ।

यसपाली फेस्टिभल क्षेत्र विस्तार गरिएको छ । भेडेटार तथा आसपासका क्षेत्रमा भ्यु टावर, पाथीभरा मन्दिर, शंखेश्वर, भेडेटार पार्क, आत्मा बस्ने घर, सूर्योदय बौद्ध पार्क, प्याराग्लाइडिङ उडान स्थल, ध्वजे डाँडा, ओख्रे भ्यु टावर, नमस्ते झरना, ऐतिहासिक साँगुरीगढीस्थल लगायत रमणीय ठाउँहरू लाई फेस्टिभल क्षेत्रमा समेटिएको छ ।

अध्यक्ष रुम्दालीका अनुसार ग्रामीण पर्यटन र कृषि, घरेलु उत्पादनको प्रवर्द्धन गर्न गाउँपालिकाले सागुरीगढी क्षेत्रलाई यातायातको पहुँचमा पुर्‍याउन रिङरोडको योजना अघि सारेको छ । सोही अनुसार फेस्टिभलको क्षेत्र विस्तार गरिएको हो ।

होटेल एसोसिएसनका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले फेस्टिभलमा कृषि तथा होटेल व्यापार सहित कुल १ करोड २० लाख रुपयाको कारोबार हुने अनुमान गरिएको बताइन् । उनका अनुसार  फेस्टिभल अवधि ३ दिन सम्म पर्यटकहरूलाई खान र बस्नमा प्रचलित दरमा १० देखी १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

food festivals 2023 3food festivals 2023 4