• रश्मि प्रधान
धरान : अङ्ग्रेजी नयाँ वर्षको ठिक अघिल्लो दिन डिसेम्बर ३१ तथा पुष १६ शनिवार देखी सुरु हुने दशौं भेडेटार फुड फेस्टिभलको तयारी अन्तिम चरमा पुगेको आयोजक होटेल एसोसिएसन अफ भेडेटारले जनाएको छ। तिन दिने फेस्टिभल पुष १८ गते सम्म चल्ने छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ पर्ने भएकोले फेस्टिभलमा भारतीय पर्यटकहरूको पनि भेडेटारमा ठुलो जमघट हुनेछ ।
आयोजक होटेल एसोसिएसनका अध्यक्ष तथा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार फेस्टिभल भेडेटारको प्राकृतिक सौन्दर्यता मात्र नभई साँगुरीगढी क्षेत्रकै ग्रामीण कृषि पर्यटनको प्रवद्र्धमा केन्द्रित गरिएको बताए । उनका अनुसार फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ ।
फेस्टिभलमा परम्परागत अर्ग्यानिक र जातीय परिकारको आकर्षण रहन्छ नै साथमा साँगुरीगढी क्षेत्रको कृषि तथा घरेलु उत्पादनलाई फेस्टिभलकै बेला बजारीकरण गर्ने पूर्व तयारी धमाधम भइरहेको छ ।
फेस्टिभललाई भेडेटारमा मात्र सीमित नगरेर यसपालि फेस्टिभल क्षेत्र भेडेटार चौक देखी काम्फेक, नाम्जे र नमस्ते झरना क्षेत्र सम्म विस्तार गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई ग्रामीण जन जनजीवन, कृषि तथा स्थानिय उत्पादन सहित प्राकृतिक दृश्यावलोकन स्थलहरू सँग नजिक लैजान फेस्टिभल क्षेत्र विस्तार गरिएको उनले बताए । यसबाट साँगुरीगढीको स्थानिय कृषि तथा साना घरेलु उत्पादनहरूको बजारीकरणमा सघाउ पुग्ने र साना होटेल रेस्टुरेन्ट मार्फत गाउँले व्यवसायीले प्रत्यक्ष लाभ पाउने विश्वास गरिएको छ ।
फेस्टिभल एरिया तोकिएका भेडेटार तथा आसपासका क्षेत्रमा भ्यु टावर, पाथीभरा मन्दिर, शंखेश्वर, भेडेटार पार्क, आत्मा बस्ने घर, सूर्योदय बौद्ध पार्क, प्याराग्लाइडिङ उडान स्थल, ध्वजे डाँडा, आख्रे भ्यु टावर, नमस्ते झरना, ऐतिहासिक साँगुरीगढीस्थल लगायत रमणीय ठाउँहरू छन् । अध्यक्ष रुम्दालीका अनुसार ग्रामीण पर्यटन र कृषि, घरेलु उत्पादनको प्रवर्द्धन गर्न गाउँपालिकाले सागुरीगढी क्षेत्रलाई यातायातको पहुँचमा पुर्‍याउन रिङरोडको योजना अघि सारेको छ ।
दिर्घकालिन योजनाको रूपमा अघि सारिएको यस योजनाले भेडेटार सहित साँगुरीगढीलाई स्पट टुरिजम एरियाको रूपमा विकास गर्ने विश्वास गरिएको छ । सागुँरीगढी कृषिमा आधारित गाउँपालिका भएकोले यहाँका ग्रामीण कृषिलाई प्रोत्साहित गर्न यसपालि फेस्टिभलको अवसरमा उत्कृष्ट कृषकहरूलाई सम्मानित गरिने तयारी पनि गरिएको उनले बताए । यसपालि फेस्टिभलमा कृषि तथा होटेल व्यापार सहित कुल १ करोड २० लाख रुपयाको कारोबार हुने अनुमान गरिएको छ ।
पर्यटकहरूलाई फेस्टिभल अवधि ३ दिन सम्म खाना र बस्नमा प्रचलित दरमा १० देखी १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । आयोजक होटेल एसोसिएसनले फेस्टिभल क्षेत्रका सबै होटेल रेष्टुरेन्ट व्यवसायीहरूलाई यो छुट लागुगर्ने व्यवस्था मिलाएको हो । होटेल एसोसिएसनका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठका अनुसार साँगुरीगढी क्षेत्रको आर्थिक, सामाजिक विकासका लागि पर्यटन तथा होटेल, होमस्टे र कृषि व्यवसायको प्रवद्र्धनमा फेस्टिभलले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
दशक अघि सिएनएन टेलिभिजनको सर्भेक्षणमा विश्वको घुम्ने पर्ने १२ औ गन्तव्य स्थल भेडेटारको नाम्जे बजारलाई उल्लेख गरिएपछि नेपाल आउने विदेशी पर्यटकहरू भेडेटार आउने गरेका छन् । बर्सेनि आयोजना गरिने फेस्टिभलले भेडेटारको साथै आसपासका पर्यटकीय स्थलहरूको प्रचार बढाएकोले होटेल एसोसिएसनले फेस्टिभललाई महत्त्वका साथ निरन्तरता दिँदै आएको छ ।
फेस्टिभललाई मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानिय कलाकारहरूको सांस्कृतिक कार्यक्रम, प्रदर्शनीहरूको पनि आयोजना हुनेछन् ।