• रश्मि प्रधान

धरान : धरान-१३ मा रहेको चिरञ्जीवी बचत तथा ऋण सहकारीले एक वर्षमा डेढ अर्ब भन्दा बढीको कारोबार गरेको छ। सोमवार भएको ११ औँ वार्षिक साधारणको आर्थिक प्रतिवेदनमा सहकारीले सो कुरा उल्लेख गरेको छ ।

संस्थाका अध्यक्ष खेम बहादुर माझीद्वारा प्रस्तुत प्रतिवेदनमा १ अर्ब ५५ करोड २ लाख २३ हजार ७ सय ७९ रुपैयाँको कारोबार भएको उल्लेख गरिएको छ । संस्थाले २४ लाख ३८ हजार १ सय ५५ रुपैयाँ मुनाफा गरेको संस्थाका अध्यक्ष माझीले जानकारी गराएका छन् ।

साधारण सभाको उद्घाटन गर्दै धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले सहकारी भनेको सजिलोमा लौरो दिने र अफ्ठेरोमा पर्दा लौरो खोसिदिने बैङ्क प्रवृत्ति नभएको बताउँदै साना साना छरिएर रहेको पुँजीलाई सङ्गठित गर्न वनेको वित्तीय संस्था भएको बताए ।

उनले कोभिडको महामारीमा पनि सहकारीले बचतकर्ता र शेयर सदस्यहरूलाई कारोबारमा कुनै समस्या हुन नदिएको भन्दै प्रशंसा गरेका थिए । 

सहकारी विधि अनुसार सञ्चालन भएको खण्डमा कुनै समस्यामा नपर्ने दाबी समेत गरेका थिए । उनले वडा समितिसँग सहकार्य गर्न चाहेको खण्डमा आफूहरू सहकार्य गरेर काम गर्न तत्पर रहेको बताएका थिए । उनले कोभिडको महामारी देखि अन्य वडाका कामहरूमा समेत चिरञ्जीवी सहकारीसँग सहकार्य गरेर काम गरेको स्मरण गर्दै फेरी पनि सहकार्य गरेर अघि बढ्न चाहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राईले चिरञ्जीवी सहकारी सँग सहकार्य गरेर काम गर्न आफूहरू तयार रहेको बताउँदै सामाजिक कार्यमा आफूहरू पनि सहभागी हुने उल्लेख गरेका थिए । पत्रकार महासङ्घका सल्लाहकार सन्तोष काफ्लेले संस्थाले गरेको आर्थिक तथा सामाजिक कामको प्रशंसा गरेका थिए ।

पत्रकार गोविन्द बस्नेत सम्मानित 

gobinda-basnet-sammanचिरञ्जीवी बचत तथा ऋण सहकारीले ११ औँ वार्षिक साधारण सभामा पत्रकारिताको माध्यमबाट समाजमा सचेतना फैलाउँदै समाजलाई योगदान पुर्‍याउन सहयोग गरेको  भन्दै पत्रकार गोविन्द बस्नेतलाई सम्मान गरेको छ । बस्नेतलाई संस्थाले नगद १० हजार सहित प्रमाण पत्र र खादा लगाएर सम्मान गरिएको हो ।

बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि नेत्रप्रसाद काफ्लेले प्रमाण र र खादा लगाएर सम्मान गरेका थिए । बस्नेत धरानबाट प्रकाशित कोशीपत्र दैनिकका कार्यकारी सम्पादक, हिमशिखर टेलिभिजनका सुनसरी संवाददाता तथा धरान साप्ताहिकका कार्यकारी सम्पादक समेत हुन ।