धरान : अनेरास्वियु धरान उपमहानगरपालिका कमिटीको आयोजनामा शुक्रवार देखि सुरु हुन लागेको पहिलो धरान उपमहानगर स्तरीय अखिल फुटबल रनिङ्ग कप २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।
पौष २२ गते देखि २९ गते सम्म सम्पन्न हुने मावि स्तरीय प्रतियोगितामा धरान उपमहानगरपालिका भरिका १३ वटा विद्यालयले सहभागिता जनाउँदै प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ११ वा १२ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछ ।
आयोजकले बुधवार खेल तालिका तयार गरी सार्वजनिक गरेको छ।  खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा धरान मेघा कलेज वि टिम र डिपो आदर्श  कलेजले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका विजेता टिमले नगद ३३ हजार रुपैयाँ, उपविजेताले नगद २२ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी व्यक्तिगत विद्या तर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी, हाइ स्कोरर, वेस्ट गोलकिपर, वेस्ट डिफेन्स, वेस्ट मिडफिल्डर र प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडीलाई ट्रफि र प्रमाण प्रदान गरिने आयोजक अनेरास्वियु नगर कमिटी अध्यक्ष समिट कार्कीले जानकारी गराए।
प्रतियोगिताको सम्पूर्ण खेल केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानको खेल मैदानमा हुनेछ । खेल मैदान सानो भएकोले ८ साइजको खेल खेलाइने आयोजक अनेरास्वियु नगर कमिटी सहसचिव रोहन केसीले जनाए ।