इटहरी : प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले सवारी दुर्घटनाको प्रमुख कारण बाइक र ई रिक्सा रहेको जनाएको छ । प्रदेश प्रमुख श्याम कुमार महतोको ४ महिनाको कार्यकालमा भएको प्रगतिको विषयमा शुक्रवार पत्रकार सम्मेलन गर्दै यसबारे प्रस्ट पारेका हुन् ।

प्रहरी उपरीक्षक महतोका अनुसार सवारी दुर्घटनाको प्रमुख कारणमा बाइक र ई रिक्सा चालकको लापरबाही बढी देखिएको छ । कुल दुर्घटना मध्ये ५७ प्रतिशत बाइक र १६ प्रतिशत इ–रिक्साको कारण भएको तथ्याङ्कमा उल्लेख छ । प्रगति विवरण सार्वजनिक गर्दै प्रमुख महतोले तीव्र सवारी चलाउँदा ५३ प्रतिशत दुर्घटना हुने गरेको जानकारी दिए ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनु सबैभन्दा ठुलो दुर्घटनाको कारण भएको उनले प्रष्ट पारे । सहरी क्षेत्रमा बाइक र ई-रिक्साले ट्राफिक नियम उल्लङ्घन गर्दा जोखिम बढेको उनको भनाई छ ।

मापसे परीक्षण गर्ने उपकरण (ब्रेथलाइजर) को अभावमा प्रभावकारी नियमन गर्न नसकिएको उनले बताएका छन् । सवारी चालकको लापरबाहीको कारण दुर्घटना बढ्दै गएको प्रस्ट पार्दै सचेतना अभियानलाई प्रमुखताका साथ अगाडी बढाइएको सुनाए ।

१० दिनमा ४ जनाको मृत्यु भएको दुर्घटनाग्रस्त क्षेत्र तरहरादेखी इटहरी चोक सम्म दुरी मापन यन्त्र (राडरगन) ले निरीक्षण गर्न थालिएको बताइएको छ। जसको कारण विगत डेढ महिना देखी एउटा पनि दुर्घटना नभएको उनको दाबी छ ।

उपकरणको अभावले गर्दा सोचेजस्तो काम गर्न नसकिएको उनले बताएका छन् । जनशक्तिको अभावको कारण देखाउँदै उनले उपलब्ध जवानको अधिकतम उपयोग गरेको बताए । प्रदेश भरिमा ४४८ जना मात्र ट्राफिक प्रहरी कार्यरत रहेका छन् ।

विगतमा भन्दा दुर्घटनाको दर कम बन्दै गएको बताउँदै प्रमुख महतोले चालु आबमा १९.४ प्रतिशतले दुर्घटना कम भएको बताए । आव २०७६/७७ मा १३२१, ०७७/७८ मा ३१३१ र आव ०७८/७९ मा ३८२० दुर्घटना भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

दुर्घटनाको सङ्ख्यामा वृद्धि भए पनि विगतको अनुपातमा कमी आएको उनको तर्क छ । अघिल्ला आबमा २६ प्रतिशतले बढेको मृत्युदरको रेसियो हाल १९.४ प्रतिशतमा सीमित भएको महतोले जानकारी दिए । कुल दुर्घटनाको ७५ प्रतिशत झापा, मोरङ र सुनसरीमा हुने गरेको उल्लेख गरिएको छ ।  चालु आवको पौष २० गते सम्ममा प्रदेश १ भरिमा जरिवाना बापत मात्र ८ करोड १४ लाख ३५ हजार ५०० राजस्व सङ्कलन भएको छ ।

श्रोत साधनको पर्याप्त व्यवस्था नहुँदा उपलब्ध जनशक्तिलाई टार्गेट दिएर काम गर्न लगाउन थालिएको महतोले जानकारी दिए । स्थानीय सरकार सँगको समन्वयमा सहरको पार्किङ देखी सवारी व्यवस्थापनमा लागि परेको उनले बताए । पछिल्लो समय इटहरीको पार्किङ र सवारी व्यवस्थापन उदाहरणीय देखिएको भन्दै खुसी व्यक्त गरे ।

Traffice police mahato