झापा : झापा जिल्लामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या अन्य सवारी साधनको तुलनामा झण्डै ५० प्रतिशत छ।

गत आर्थिक वर्ष २०७७/०७८ को एकवर्षे अवधिमा झापा जिल्लाका अलग अलग स्थानमा भएका सवारी दुघर्टनामा परेर ९३ जनाको ज्यान गएको छ । तीमध्ये ३४ जना त मोटरसाइकल चालक र त्यसमा सवार मात्र रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निशेष चापागाईँको भनाई छ।

मृत्यु हुनेमा अधिकाँश ३० वर्ष उमेर भन्दा कमका छन्। प्रहरीको तथ्याङ्क अनुसार दुर्घटनामा परेका कुल सवारी साधन मध्ये ५५ प्रतिशत मोटरसाईकलनै रहने गरेका छन्। मोटरसाइकल तीव्र रूपमा चलाउने गरेका कारण दुर्घटना हुने प्रहरीको भनाई छ । मोटरसाइकल दुर्घटना भए शायदै मात्र मान्छे बाच्ने गरेको एक प्रहरी अधिकारी बताउँछन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी सहायक निरीक्षक यमकुमार खड्का मोटरसाइकल चलाउँदा अनिवार्य हेलमेट लगाउनु पर्ने भए पनि अधिकांशले हेलमेट प्रयोग नगर्ने बताउँछन्। मोटरसाइकलमा दुर्घटनामा परेका अधिकांशको टाउकोमा चोट देखिएको छ । कम से कम हेल्मेटमात्र प्रयोग गर्ने हो भने पनि जोखिमलाई कम गर्न सकिने उनको भनाई छ।

सवारी साधनमा मोटरसाइकल सबैभन्दा ‘रिश्की’ सवारी साधन भएको बताउदैं प्रहरी निरीक्षक चापागाईँ तीव्र रूपमा सवारी साधन चलाउनु तथा सडकको दुरावस्थाले पनि अत्यधिक दुर्घटना हुने गरेको बताउँछन् । अझ प्रहरी अनुपस्थित हुने क्षेत्रमा पुरै लापरबाही हुने गरेको उनको भनाई छ।

जिल्लामा सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सवारी नियम उल्लङ्घनका घटना हुने गरेको प्रहरीको भनाई छ । अझ प्रहरीको अनुपस्थित हुने क्षेत्रमा पुरै लापरबाही हुने गरेको छ। अधिकांश दुर्घटना पूर्व-पश्चिम लोक मार्ग अन्तर्गत मेचीनगरको चारआली, कनकाईको सुरुङ्गा, शिवसताक्षीको झिलझिले, दमकको विभिन्न क्षेत्रमा भएको प्रहरीको अभिलेखले देखाएको छ । लोक मार्गबाहेक अन्य साइड मार्गमा समेत दुर्घटना भएका छन् ।

यस्तो समस्या ग्रामीण क्षेत्रका सडकमा धेरै रहेको प्रहरी सहायक निरीक्षक खडकाको भनाई छ । क्षमता भन्दा बढी चढ्ने अनि तीव्र गतिमा चलाउने गरेका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरी प्रमुख प्रहरी चापागाईँको भनाई छ । अझ हेलमेट नलगाई मोटरसाइकल चलाउँदा यात्रा झन् जोखिम हुने गरेको प्रहरीको भनाई छ ।

गत आर्थिक वर्ष २०७७/०७८ को एक वर्षे अवधिमा २१ हजार १ सय ५७ वटा मोटरसाइकल प्रहरी कारबाहीमा परेका थिए । यो अवधिमा मोटरसाइकलबाट मात्रै कार्यालयले १ करोड ५० लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले बेला बेला विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रदेश १ मा दुई वर्षमा चार हजार बढी सवारी दुर्घटना, ७ सय ७६ जनाले ज्यान गुमाए

प्रदेश १ मा दुई वर्षमा भएका चार हजारभन्दा बढी सवारी दुर्घटनामा सात सय ७६ जनाले ज्यान गुमाएका छन्। प्रदेश १ का १४ जिल्लाभित्र दुई वर्षको अवधिमा भएका चार हजार चार सय ५३ वटा सवारी दुर्घटनामा सात सय ७६ जनाले ज्यान गुमाएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

आर्थिक वर्ष २०७६/७७ मा भएका एक हजार तीन सय २२ सवारी दुर्घटनामा तीन सय ३२ जनाको मृत्यु सात सय ९१ जना गम्भीर घाइते भएका थिए भने एक सय ७२ वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/७७ को तुलनामा ०७७/७८ मा दुर्घटना सङ्ख्या दुई गुणाभन्दा बढीले वृद्धि भएको छ । तीन हजार १ सय ३१ सवारी दुर्घटना हुँदा चार सय ४४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

त्यस्तै एक हजार ८३ जना गम्भीर घाइते भएका छन् भने तीन सय ४४ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । सवारी दुर्घटना बढ्नुमा चालकको लापरबाही, साँघुरो सडक, सवारी साधनको अत्यधिक चाप, बाटो काट्दा सर्वसाधारणको गल्ती जस्ता कारण औँल्याइएको छ।

सवारी चालकहरुपनि सवारीको चाप, तीव्र गतिका कारण आफ्नो सवारी जोगाएर सवारी चलाउनै गाह्रो परेको गुनासो गरिरहेका छन्। पानी परेको समयमा सडकमा परेका खाल्डाखुल्डीका कारण पनि सवारी दुर्घटना हुने गरेको चालकहरूको भनाई छ।

प्रदेश १ भरी १४ जिल्लामध्ये सबै भन्दा धेरै सुनसरी, मोरङ, र झापामा अत्यधिक दुर्घटना हुने गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिएका छन् । उनका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जिप, कार, टेम्पु सबैभन्दा बढी दुर्घटना हुने गरेको छ ।

मुख्य राजमार्गमा ट्राफिक प्रहरी बसे पनि भित्री बाटो तथा पहाडी इलाकामा दुर्घटना बढेको उनको भनाई छ । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तीव्र गति मुख्य कारण भएको पत्ता लगाएर अहिले टायम कार्ड लागु गरिएको छ ।