• रश्मि प्रधान 

धरान : प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले धरानको खानेपानी समस्या दिर्घकालिन रूपमा समाधान गर्न उपमहानगरपालिको एकल प्रयासले मात्र सम्भव नहुने भएकोले त्यसको लागि प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गर्न जरुरी भएको बताएका छन् । धरान उत्सवको समापन समारोहमा शुक्रवार प्रमुख अतिथि रहेका मुख्यमन्त्री राईले एकल प्रयासमा केही कार्य गर्न सकिँदैन, खानेपानी समस्याको दिर्घकालिन समाधानको लागि सङ्घीय तथा प्रदेश सरकारसँग हातेमालो गर्न आवश्यक भएको बताएका हुन् । 

उनले भने ‘स्थानिय सरकारले आवश्यकता परेमा र सहकार्य गर्न आग्रह गरेमा प्रदेश सरकार सहकार्य गर्न तयार छ ।’ लेनदेन दोहोरो कुरा भएकोले स्थानिय सरकार व्यवस्थित ढङ्गले प्रदेश तथा सङ्घीय सरकार सँग आउनु पर्नेमा ध्यानाकर्षण गराए । 

मुख्यमन्त्री राईले मेयर हर्क साम्पाङलाई अनुभवको खाँचो रहे तर गरेर देखाउनु पर्छ भने भावले आफै श्रम लगानी गरिरहेको उल्लेख गर्दै धरानको बारेमा सबै कुरा थाहा भएका प्रशासकीय अधिकृतले  आवश्यक योजना माग गर्न सहयोग गर्न जरुरी भएको बताए ।  

मेयर हर्क साम्पाङले ढुङ्गा बोक्न नआउनेलाई कसरी धराने भन्ने भनी प्रश्न गर्दे  ६ महिनामा ७ वटा खोला खोल्सीबाट ल्याएको पानीले ‘आपत्कालीन समस्या हल गरेको’ बताए । उनले ढुङ्गा बोक्न नआएकामा राजनीतिक दलहरूप्रति असन्तुष्टि प्रकट गर्दै एमाले काँग्रेस, माओवादी र जसपा जस्ता पार्टीहरूले अहिले त्यही पानी खाँदै गरेको बताए । 

उनले प्रहरी र राष्ट्र सेवक कर्मचारीप्रति टिप्पणी गर्दै मेयरलाई एउटा पुलिस र लोकसेवा पास गरेको कर्मचारीले बन क्षेत्रको कुरा सिकाउने ? भनी प्रश्न गरे । मुख्यमन्त्री तर्फ सङ्केत गर्दै मेयर साम्पाङले भने ‘बनको भवन बन्दै छ त्यो नबनाउनु भन्दिनु ।’ मेयर दौड प्रतियोगितामा आफू पहिलो हुने भन्दै आफू एक मात्र श्रम गर्ने र विकास गर्ने मेयर रहेको दाबी गरे । 

समापन कार्यक्रममा प्रदेश सभा क्षेत्र १ (क)का सांसद रमेश बस्नेत, समानुपातिक सांसद यशोदा कायस्थ, उद्योग वाणिज्य सङ्घ सुनसरी अध्यक्ष विजय श्रेष्ठ लगायतको उपस्थिति थियो । समारोहमा  उत्सवलाई सफल बनाउन सहयोग गर्ने सङ्घ संस्था र विभिन्न प्रतियोगितामा सफल हुनेहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।