इटहरी : सुन्दरहरैंचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईँको निर्णय अव्यवहारिक भएको भन्दै युवाहरूले विरोध जनाएका छन् । मेयर गुरागाईँले भेट्ने समय दिउँसो २ बजेपछि मात्र भनेर सूचना प्रकाशित भएपछि युवाहरूले विरोध जनाएका हुन् । 
शुक्रवार प्रवीण घिमिरे, जयप्रकाश रायमाझी, सुवास भण्डारी, समीर जङ्ग रायमाझी, दावा तामाङ, केदार खड्का लगायत युवाहरूले मेयर गुरागाईँलाई कार्यकक्षमै भेटेर विरोध जनाएका हुन् । मेयर गुरागाईँले प्रकाशित गरेको सूचना च्यातेर ‘नगर प्रमुखलाई कार्यालयमा भेट्ने समय बिहान १० बजे देखी बेलुका ४ बजेसम्म’ लेखेको सूचना टाँसेका हुन् । नम्बर सहितको सूचना प्रकाशित गरेसँगै युवाहरूले मेयरलाई समेत सचेत गराए । 
त्यही बिचमा भिडियो खिच्न पुगेको पत्रकारलाई मेयरले रोक्न खोजेका थिए । युवाहरूले ‘पुरै भिडियो खिच्नु’ भनेपछि मेयर गुरागाईँ पछि हटे । 
युवा नेता प्रवीण घिमिरेले मेयर निरंकुशताको बाटोमा लागेको बताएका छन् । ‘हिजो चुनावमा जनताले राति बाह्रबजे पनि स्वागत गर्ने तर अहिले जनतालाई भेट्ने समय तोकिनु गलत हो । त्यसैले हामीले कार्यालय समयभरि मेयरलाई भेट्न पाइन्छ भनेर सूचना प्रकाशित गरेका छौ । राम्रा कामको प्रशंसा गर्ने तर गलत कुराको कुनै पार्टी भनेर छाड्ने वाला छैनौँ,’ उनले भने ।  
अर्का युवा जयप्रकाश रायमाझी ले जनताको सेवक बन्न सल्लाह दिए । शासक बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउँदै  जनताको समस्या हल गर्न सकिँदैन भने राजनीति नगर्न आग्रह गरे ।   
यस बिषयमा कपुरी न्युजले मेयरको प्रतिक्रिया बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् । सुरुमा कल रिसिभ गरे पनि पछि मोबाइल अफ गरेका थिए ।  
उता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले विज्ञप्ति जारी गर्दै गलत प्रचार भएको जानकारी गराएका छन् । नगरको बृहत्तर विकाशको लागि विभिन्न छलफल तथा कार्यक्रममा सहभागी हुनुपर्ने भएको हुँदा समय व्यवस्थापन गर्नको लागि समय निर्धारण गरिएको बताइएको छ । सेवाग्राहीले लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न समय तालीका बनाइएको जनाइएको छ । 

यसअघि पनि सुन्दरहरैंचा वडा नम्बर ४ दुलारीबाट दुई दिन सेवा दिने मेयर गुरागाईँले निर्णय गरे । निर्णय गरेको दुई दिन मात्र वडा कार्यालयमा पुगेका उनी त्यसपछि देखा परेनन् । मेयर निर्वाचित भएसँगै सुरु भएको प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र मेयर बिचको विवाद केही दिन अगाडी मात्र समाधान भएको छ । लामो समय भुक्तानी रोकिएको सुन्दरहरैंचामा छोटो समयमै धेरै विवाद सृजना भएका छन् ।