इटहरी : मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले पाँचबर्षमा उल्लेख्य काम गर्न नसकेको आरोप लागेको छ । ढकालले सुन्दरहरैँचा नगरपालिकाको पहिलो मेयर भएर स्वर्णिम कार्यकाल बनाउने अवसर गुमाएको आरोप लागेको हो।
नेकपा एमालेका उम्मेदवार केदार गुरागाईँलाई पराजित गर्दै विजयी भएका ढकाल पुनः मेयरको दाबी गरिरहेका छन् । गुरागाईँ पनि पार्टीले टिकट दिए मेयरको उम्मेदवार बन्ने तयारीमा छन् ।
ढकालको पाँचबर्षे कार्यकालको मूल्याङ्कन गर्दै गुरागाईँले कामचलाउ मात्र भएको टिप्पणी गरेका छन् । सम्झन लायक कुनै पनि काम नगरेको बताउँदै उनले सडक निमार्ण बाहेक अन्य क्षेत्रमा कुनै प्रगति नभएको बताए । पहुँच भएका वडाध्यक्षको वडामा सडक निमार्ण भए पनि बाकी क्षेत्रमा कुनै प्रगति नभएको उनको आरोप छ ।
यो बिचमा कुनै पनि नयाँ योजना नदेखिएको भन्दै उनले योजनाबद्ध तरिकाले काम नभएको बताए । सामान्य र झिना मसिना काममा अल्झिने तर खास मानव संसाधनको विकाशमा ध्यान नदिने प्रवृत्ति देखिएको उनको बुझाई छ । 
पाँचबर्षमा सुन्दरहरैँचाको शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको अवस्थामा कुनै सुधार नभएको भन्दै उनले जनताको आधारभूत आवश्यकतामा काम नगरेपछि जनप्रतिनिधि बन्नुको मतलब नभएको उल्लेख गरे । आफू मेयर भएको भए खोला नियन्त्रण, शिक्षामा गुणस्तरीयता र स्वास्थ्य सेवाको उपलब्धता देखी कृषिको व्यवसायीकरणमा जोड दिने उनले सुनाए । 
“अबको ५० वर्षपछि सुन्दरहरैँचा नगरपालिका कस्तो बनाउने भन्ने बारे गुरु योजना आउनुपर्ने थियो । त्यो भएन । घोषणापत्र कार्यान्वयनमा ध्यान दिनुपर्ने थियो । मानव संसाधनको विकाशमा एकरती ध्यान दिइएन ।,” उनले भने, “कर्मचारी चलाउने काम भयो । एउटा प्रमुख प्रशासकीय अधिकृत १ वर्षसम्म टिक्न सकेन । यसमा मेयरको अनावश्यक दबाबले काम गरेको सुनिन्छ । छोटकरीमा भन्नुपर्दा आसेपासेलाई पोस्ने काम मात्र भयो ।”